• शनिबार, साउन ९ २०८३

मोटरसाइकल चोरीमा संग्लन ठूलो गिरोह पक्राउ


शुक्रबार, चैत्र २ २०८०
1.9K
Shares

गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाले एक साथ मोटरसाइकल चोरीमा संग्लन ठूलो गिरोहलाई पक्राउ गरेको छ । जिल्ला र छिमेकी जिल्लाहरुबाट विभिन्न मितिमा हराएका ९ थान मोटसाइकल सहित पक्राउ परेका ११ जनालाई प्रहरीले बिहीबार पत्रकार सम्मेलन मार्फत सार्वजानिक गरेको छ ।

‘यहाँ धेरै मोटसाइकल हराएका उजुरी परेका थिए,’ प्रहरी उपरीक्षक बासुदेव पाठकले भने,‘चोरीका मोटरसाइकल ग्रामिण भेगमा लगेर चलाइएको छ भन्ने सूचना पाएपछि हामीले ब्राबो चार्ली नामक अपरेसन सञ्चालन गरेका थियौं, १० दिन लामा अपरेसन पछि यो सफलता प्राप्त भयो ।’ केही समय अघि बारपाक सुलिकोट गाउँपालिका–७ देउरालीका लक्ष्मण गुरुङको प्र ३–०२–००१ प ४६०१ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकल चोरी भएको घटनाको अनुसन्धानको क्रममा फागुन २७ मोटसाइकल सहित ५ पक्राउ परेका थिए ।

पक्राउ पर्नेहरुमा आरुघाट गाउँपालिका–३ निबोट बस्ने २६ वर्षीय सुकबहादुर गुरुङ, सोही ठाउँका १९ वर्षीय सुजन कार्की, आरुघाट गाउँपालिका–६ कल्लेरीका ३१ वर्षीय रामकुमार श्रेष्ठ, आरुघाट गाउँपालिका ४–थुमी बरामगाउँका २८ वर्षीय पदमबहादुर बराम ९रोनिस०, बारा गढिमाई नगरपालिका–११ घर भई हाल आरुघाट गाउँपालिका–३ आर्खेत स्थित बि।आर बर्दस नाम गरेको वर्कसपमा काम गर्ने २४ वर्षीय शंकर शाह सोनार रहेका छन् ।

‘अनुसन्धान गर्दै जाँदा यही समूहले मोटरसाइकल चोरी गरी बिक्रि गर्ने, आफूले समेत प्रयोग गर्ने गरेको पुष्टी भयो,’ उनल भने,‘गोरखा र धादिङका विभिन्न ठाउँबाट विभिन्न समयमा यस्तै धेरै मोटसाइकल चोरी भएको अनुसन्धानबाट खुल्न आएपछि हामीले थप व्यक्तिलाई पक्राउ गर्न सफल भएका हौं ।’ यसैगरी फागुन ३० गते थप ६ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

आरुघाट गाउँपालिका–३ निबोटका १९ वर्षीय सन्तोष गुरुङ, २० वर्षीय सोमे भनिने उत्तम गुरुङ, १९ वर्षीय देउवा गुरुङ, वडा नम्बर २ का २४ वर्षीय अञ्जन घले, वडा नम्बर ३ का ३१ वर्षीय टेकबहादुर आले, वर्ष १९ का कलम आलेमगरलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए । पक्राउ परेका सबै जनालाई चोरी शीर्षकमा मुद्धा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा ६ चोरी गर्ने कार्यमा संग्लन, ४ जनाले चोरीको मोटरसाइकल खरिद गरेको र १ एक जना चोरी भएका मोटरसाइकल पाटपुर्जाहरु फेरबदल गर्ने कार्यमा संग्लन रहेको उनले जानकारी दिए । ‘अनुसन्धान गर्ने क्रममा उनीहरुले २२० सिसिको पल्सर मोटरसाइकललाई बिशेष टार्गेट गरेको देखिन्छ,’ उनले भने,‘ चोरीको मोटरसाइकलहरु प्राय गोरखाको उत्तरी दुर्गम भेगमा प्रयोग गर्ने गरेको पाइयो । केही मोटरसाइकलका पाटपुर्जा निकाले पुरानोमा फिट गरी चलाएको पनि खुल्न आएको छ ।’

उनीहरुको साथबाट प्रहरीले ना ४९ प ९४१३, बा ०८२ प ६५६७, बा।प्र ०२–०२५ प ०९८३, प्रदेश ३–०२–००३ प ४६६, बा ६३ प ३४२२, बा ६३ प ४६९६ नम्बरको २२० सिसिको मोटरसाइकल प्रहरीले बरामद गरेको छ । यसैगरी बा प्र ०२–०२० प ९१७९ नम्बरको एनएस पल्सर मोटसाइकल र एउटा मोटसाइकलको पाटपुर्जा मात्र फेला परेको प्रहरीले जनाएको छ । बा प्र ०२–०२१ प ९९५५ नम्बरको मोटरसाइकल च्यासिस नम्बर उल्लेख भाग, इन्जिनको भाग र उक्त मोटरसाइकलको नम्बर प्लेट मात्र फेला परेको प्रहरीले जनाएको छ । उक्त ९ वटा मोटरसाइकलहरु मध्ये ५ वटा धादिङबाट र ४ वटा गोरखाबाट चोरी भएको प्रहरीले जानकारी दिएको छ ।

जसमध्ये ४ वटा बिक्रि गरेको, ४ वटा चोरी गर्ने व्यक्ति स्वम्ले प्रयोग गरेको र एउटा फालिएको अबस्थामा फेला परेको थियो । ‘यो अपरेसनको क्रममा २ थान बेबारिसे मोटरसाइकल पनि फेला परेका छन्,’ प्रनाउ पाठकले भने ,‘ थप एउटा चोरीको मोटरसाइकल मान्बुबाट बरामद गरी जिप्रका ल्याउने काम भइरहेको छ ।’ इलाका प्रहरी कार्यालय आरुघाट र प्रहरी चौकी आर्खेतको टोली फागुन २० गते देखि ३० गते सम्म सञ्चालन गरेको अपरेसनका क्रममा चोरीको मोटरसाइकल र मोटरसाइकल चोरीमा संग्लनलाई पक्राउ गरेका हुन् ।

भौगोलिक बिकटता, सडकको दुरावस्ता, स्थानीयको चेतनाको कमि आदि कारणले अपराधका घटना अनुसन्धान गर्न प्रहरीलाई कठिनाइँ भएको आरुघाट प्रहरी चौकीका प्रहरी निरीक्षक नरबहादुर साउदले बताए । गोरखामा साउन यता १६ वटा मोटरसाइकल हराएका छन् । ती मध्ये ४ वटा प्रहरीले बरामद गरी सकेको, एउटा बरामद गरी ल्याउने काम भइरहेको जनाएको छ । बाँकी ११ वटा मोटरसाइकल अझै फेला पर्न सकेका छैनन् । मोटरसाइकल चोरीका घटना उच्च भएकाले सुरक्षित ठाउँमा पार्किङ गरिदिन प्रहरीले सबैलाई अनुरोध गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार