गोरखा । किमोलुङ फाउण्डेशन नेपालले उत्तरी गोरखामा निशुल्क स्वास्थ्य परिक्षण र उपचार शिविर गरेको छ । चुमनुब्री गाउँपालिकासंगको संयुक्त आयोजनामा किमोलुङले वडा नम्बर ३ को सिर्दिवासमा चार दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै त्यस क्षेत्रका बासिन्दालाई सेवा दिएको हो ।
चारदिनसम्म चलेको शिविरमा करिब ८ सय विरामीले निशुल्क स्वास्थ्य परिक्षण र उपचार गराएका छन् । हिरो नामक अन्तराष्ट्रिय संस्थाको आर्थिक सहयोग तथा एलिभेट नेपालको समन्वयमा शिविर उद्घाटन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी गुरुङको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधकिृत मनोज लामिछाने, वडा नम्बर ३ का वडाध्यक्ष रामकुमार गुरुङ, गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख प्रेम गुरुङ लगायतको उपस्थिती रहेको थियो ।
फागुन १८ देखि २१ गतेसम्म चलेको शिविरमा सामान्य स्वास्थ्य परीक्षण, दाँतको चेकजाँच, दाँत भर्ने, बिग्रेको दाँत निकाल्ने सेवा, स्त्री रोगको उपचार, छाला सम्बन्धी रोगको उपचार, अकुपंचर, इसिजी सेवा, अल्ट्रासाउन्ड, ल्याव सेवा, दमका बिरामीलाई नेवुलाइजरबाट उपचार, आँखाको सामान्य चेकजाँच भएको थियो । शिविर नेपाली विशेषज्ञ चिकित्सकको प्रत्यक्ष निगरानीमा सञ्चालन भएको आयोजकले बताएको छ ।
साथै शिविरमा निशुल्क चस्मा वितरण लगायत चेकजाँच, उपचार र औषधी वितरण गरिएको फाउण्डेशनका संस्थापक एवं अध्यक्ष वाङचुक राप्तेन लामाले जानकारी दिए ।
हालसम्म सडक सञ्जालले नछोएको चुमनुब्री गाउँपालिकाका स्थानीयहरुलाई लक्षित गरेर शिविर संचालन गरेको हो । शिविरमा आधुनिक उपकरणसहित ८ जना अमेरिकन र ५ जना नेपाली विशेषज्ञ चिकित्सकले बिरामीको परिक्षण र उपचार गराएका थिए । शिविरमा विशेषज्ञ चिकित्सक, विदेशी नर्स, स्वास्थ्य स्वयम सेवक, चुमनुब्री गाउँपालिकाभित्रका स्वास्थ्य चौकीहरुका कर्मचारी लगायत विदेशी तथा स्वदेशी ४९ जना स्वास्थ्यकर्मीहरु खटिएको फाउण्डेशनका अध्यक्ष लामाले बताए ।
शिविरकै अवसर पारेर फाउण्डेशनले विभिन्न स्वस्थ्यसम्बन्धी जनचेतनामुलक कार्यक्रमहरुको समेत आयोजना गरेको थियो । शिविरमा आएका विशेषज्ञको टोलीले चुमनुब्री गाउँपालिकाको ७ वटै वडाका स्वास्थ्यकर्मीहरुलाई सुरक्षित प्रसुती सम्बन्धी तीनदिने तालिम समेत दिएका थिए ।
त्यस्तै फाउण्डेशनले चुमनुब्री गाउँपालिकाभरका बर्थिङ सेन्टरका लागि प्रसुति गराउन प्रयोग हुने एनएएसजी, ट्याम्पोनेट भ्यालुन, सिलक्स पिपिएच, फिटर डब्लर, पेसरी रिङ लगायतका उपकरणहरु समेत वितरण गरिएको थियो । संस्थाले दिएको उपकरणको प्रयोगले गाउँमै सुरक्षित सुत्केरी गराउन सहयोग पुग्ने फाउण्डेशनको विश्वास छ ।
साथै, फाउण्डेशनले फिलिमका महिला समुहलाई लक्षित गरी स्त्री स्वास्थ्य तथा प्रजनन् सम्बन्धी सचेतनामुलक कार्यक्रमको पनि आयोजना गरेको थियो । फाउण्डेशनले सोमबार चुमनुब्री गाउँपालिका वडा नं ३ स्थित बुद्ध माविका विद्यार्थीहरुलाई दन्त स्वास्थ्य सुदृढ गर्न ब्रस मन्जन वितरण गरेर शिविर समापन गरिएको फाउन्डेसनले जनाएको छ ।
शिविरकै अवसरमा कोर्कोमा नामक संस्थाका संस्थापक रेवती गुरुङको सहयोगमा ५ केजीसम्मका करिब ६० जना बालबालिकालाई न्यानो टोपी, ब्लाङ्केट, न्यानो लुगा लगायत समेत वितरण गरिएको बताइएको छ ।
हिमालपारीको गाउँपालिका भनेर चिनिने चुमनुब्रीको केन्द्रमा आयोजित सो शिविरमा सहभागी हुन स्वदेशी तथा बिदेशी चिकित्सकहरु कहलीलाग्दा भीर, चट्टान, पहिरोहरुलाई छिचोल्दै पैदलयात्रा गरेर पुगेको र शिविरका लागि आवस्यक उपकरण, औषधी लगायतका सामाग्री समेत बोकेरै पुर्याइएको फाउण्डेशनका अध्यक्ष लामाले बताए ।
त्यस्तै शिविरमा बाँकी रहेका औषधीहरु सिर्दिबास स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको फाउण्डेशनले जनाएको छ ।
यसअघि किमोलुङले चुमनुब्रीकै बिभिन्न वडा, आरुघाट गाउँपालिका तथा भिमसेन थापा गाउँपालिका लगायतमा समेत स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।
तस्विरहरुः किमोलुङ फाउण्डेशन नेपाल