• शनिबार, साउन ९ २०८३

जलवायु न्यायका लागि सगरमाथा आधार शिविरमा ७ बुँदे घोषणापत्र जारी


शनिबार, फाल्गुन २६ २०८०
1.3K
Shares

काठमाडाैँ । विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा जलवायु न्यायका लागि ७ बुँदे घोषणापत्र जारी गरिएको छ ।

विभिन्न विधामा ख्याति प्राप्त नारीहरूको सहभागितासहित साथसाथै फाउन्डेसनको आयोजनामा सगरमाथा आधार शिविर पुगेको टोलीले शुक्रवार घोषणापत्र जारी गरेको हो ।

जलवायु परिवर्तनका कारण विश्वको सर्वोच्च शिखर सगरमाथा र खुम्बु क्षेत्रसहित अन्य हिमालहरूमा देखिएका असरहरूको बारेमा विभिन्न तहका सरकारहरूको गम्भीर ध्यानाकर्षण गराउने, खुम्बु क्षेत्रसहित नेपालका विभिन्न भागमा जलवायु परिवर्तनले महिलाको जीवनशैलीमा ल्याएका समस्या सम्बोधनका लागि राष्ट्रिय( अन्तर्राष्ट्रिय संघसंस्थाहरुसँग सहकार्य गरी अघि बढ्ने घोषणा पत्रमा उल्लेख छ ।

यस्तै जलवायु न्याय, अनुकूलन र न्यूनीकरणका लागि स्थानीय स्तरमा पहलकदमी गर्नुका साथै त्यसमा महिलाको सहभागिता सुनिश्चित गर्ने र हिमालय क्षेत्रसहित विभिन्न ठाउँमा पर्यटन प्रवर्द्धन गर्दै हिमाल वरपर बढ्दो फोहोर मैला नियन्त्रण गर्ने र पुन: प्रयोग गर्न सकिने सामानलाई प्रोत्साहित गर्न सरोकारवाला निकायलाई जागरूक गराउनुका साथै जनचेतना जगाउने घोषणापत्रमा उल्लेख छ ।
जलवायु परिवर्तनले ल्याएका समस्या समाधानका लागि हिमाल, पहाड, तराई र देशबाहिर रहेका सबै नेपालीसँग हातेमालो गर्ने र जलवायु न्यायका लागि समाजका विभिन्न तह र समुदायका महिलासहित सगरमाथा आधार शिविरमा उभिएको लगायतका बुँदा घोषणापत्रमा उल्लेख गरिएको छ ।

विभिन्न विधाका अगुवा तथा ख्याति प्राप्त सगरमाथा आधार शिविर पुगेका १९ जना महिलाहरूको टोलीले जलवायु न्यायका लागि हरेक मानवीय क्रियाकलाप प्रकृतिमैत्री हुनुपर्ने निचोड निकाल्दै पहिलो सुरुवात आफैबाट गर्ने प्रतिबद्धता जनाएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार