काठमाडाैँ । नेपाली कांग्रेस पनि राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी दिने निष्कर्षमा पुगेको छ ।
सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा शनिबार बिहान बसेको पदाधिकारी तथा केही पूर्वपदाधिकारीको बैठक अध्यक्षमा उम्मेदवारी दिनुपर्ने सैद्धान्तिक निर्णय भएको सहमहामन्त्री जीवन परियारले जानकारी दिए।
कांग्रेसले विपक्षमा रहेका अन्य दलको सहयोग जुटाउनका लागि पनि छलफल गर्ने निर्णय गरेको परियारको भनाइ छ।
उम्मेदवार चयनका बारेमा भने कांग्रेस अन्योलमै छ। राष्ट्रिय सभाकै सदस्यहरूको बैठकपछि उम्मेदवार तय गरिने कांग्रेस नेताहरूले बताएका छन्।
यसअघि कृष्णप्रसाद सिटौलालाई उठाउने भनेको कांग्रेसलाई माओवादीसँगको गठबन्धन टुटेपछि बहुमत जुटाउन कठिन भएको छ। सत्ता गठबन्धनबाट माओवादीबाट अध्यक्षको उम्मेदवार उठाउने समझदारी भएको छ।