काठमाडौँ । पाठेघरको मुखको क्यान्सरको राष्ट्रव्यापी सचेतना अभियान सञ्चालन हुने भएकाे छ । एनसेल, मेरी स्टोप्स इन्टरनेशनल नेपाल र अस्ट्रेलिया सरकारको विदेश मामिला तथा व्यापार विभाग (DFAT) को संयुक्त सहकार्यमा पाठेघरको मुखको क्यान्सरको परीक्षण र रोकथामका लागि राष्ट्रव्यापी सचेतना अभियान सुरु हुन लागेकाे हाे ।
आज एक कार्यक्रमकावीच साे अभियानकाे शुभारम्भ गरिएकाे हाे । सचेतना अभियान यहि मार्च महिनादेखि शुरु हुने र ९ देखि ४९ वर्ष उमेर समूहका किशोरी तथा महिलाहरूलाई लक्षित गरी विभिन्न क्रियाकलापहरू सञ्चालन गरिने बताइएको छ।
नेपालमा पाठेघरको मुखको क्यान्सर महिलामा ठुलो समस्याको रुपमा देखिएको छ। स्वास्थ्य सेवा विभागको तथ्यांकअनुसार सन् २०२२ मा २ हजार १६९ महिलामा पाठेघरको मुखको क्यान्सर भएको पाइएको थियो भने एक हजार ३१३ महिलाले ज्यान गुमाएका थिए।
यस अभियानको मुख्य उद्देश्य अभियान लागू हुने जिल्लाहरूमा पाठेघरको मुखको क्यान्सरको परीक्षण गर्ने र खोपको माध्यमबाट पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न सघाउ पुर्याउने रहेको छ । पाठेघरको मुखको क्यान्सर नेपालमा महिलाहरूमा हुने क्यान्सरहरू मध्ये पहिलो स्थानमा रहेको सरकारी तथ्याङ्क छ ।
सचेतना अभियानको पहुँच र प्रभाव बढाउन एनसेल, मेरी स्टोप्स इन्टरनेसनल नेपालको सेन्टरलगायत सामुदायिक सञ्जालको उपयोग गरिने बताइएको छ। यसका साथै, पाठेघरको मुखको क्यान्सर रोकथाम र उपचारको बारेमा महत्वपूर्ण जानकारी प्रवाह गर्न सञ्चारका विभिन्न माध्यमको प्रयोग गरिने बताइएको छ।
क्यान्सरको सचेतनाका लागि आमसञ्चार माध्यमद्वारा व्यापक सचेतना अभियान, प्रभावकारी सूचना सम्प्रेषणका लागि सम्बन्धित सङ्घसंस्थाहरूसँग रणनीतिक साझेदारी, विशेष टक शो, सचेतनामूलक भिडियो निर्माण तथा प्रसारण र एनसेलसँगको सहकार्यमा वाकाथन गर्ने तयारी छ।