काठमाडौँ । कक्षा १० को पाठ्यपुस्तकमा धर्म सम्बन्धि गलत ब्याख्या भएको भन्दै नेपाल मुस्लिम संघले प्रकाशकको ध्यानाकर्षण गराएको छ ।
गिनिज पब्लिकेशनले प्रकाशन गरेको कक्षा १० को सजिलो सामाजिक पुस्तकमा इस्लाम धर्मका बारे गलत ब्याख्या गरि भ्रम सृजना गराइएको भन्दै संघले आज सो पब्लिकेशनको कार्यालयमा पुगेर लिखित ध्यानाकर्षण गराएको हो ।
संघका उपाध्यक्ष मोहम्मद जबारदिन मियाँ (मुन्ना) को नेतृत्वमा गएको टोलीले तत्काल सो पुस्तकमा उल्लेख भएको इस्लाम धर्म सम्बन्धि भ्रामक व्याख्या हटाई सच्याउन माग समेत गरेको छ ।
ध्यानाकर्षण पत्रमा आगामी दिनमा इस्लाम धर्मका बारे कुनै बिषय लेख्दा वा प्रकाशन गर्दा इस्लाम धर्मका गुरु वा जानकारहरुसंगको छलफलपछि मात्रै प्रकाशन गर्न माग समेत गरिएको संघका सचिव रहिम मियाँले जानकारी दिए ।
‘गिनिज पब्लिकेशन प्रा ली काठमाण्डौले कक्षा १० मा अध्ययन अध्ययापन गराईने सजिलो सामाजिक अध्ययन विषयमा इस्लाम धर्मप्रति मुस्लिम समुदायको आस्था विश्वास एवं ईस्लाम धर्मावलम्बीहरुको समग्र संस्कृतिलाई गलत एवं तोडमोड गरी उल्लेख गरेको प्रति नेपाल मुस्लिम संघको गम्भिर ध्यानाकर्षण भएको छ ।’ संघले पब्लिकेशनलाई बुझाएको ध्यानाकर्षण पत्रमा भनिएको छ ।
त्यस्तै उक्त पुस्तकका लेखकद्वय दिनेश अर्याल र धुर्व प्रसाद तिमल्सीनाले इस्लाम धर्म तथा मुस्लिम समुदायबारे कुनै किसिमको अध्ययन तथा अनुसन्धान नै नगरी हचुवाको भरमा इस्लाम धर्मबारे पाठ्यपुस्तकमा गलत कुरा उल्लेख गरेकोले विद्यार्थीहरुमा गलत सन्देश जाने भन्दै तत्काल सच्याएर उक्त पुस्तक पुन प्रकाशन गरि गल्ती सच्याउन समेत नेपाल मुस्लिम संघ आग्रह गरेको छ ।
ध्यानाकर्षणपत्र बुझ्दै प्रकाशनका प्रतिनिधीले पुस्तकमा छापिएको बिषयले धर्म र आस्थामाथी चोट पुगेको भन्दै क्षमा मागेका थिए । त्यस्तै तत्काल सच्याएर पुन प्रकाशन गर्ने समेत प्रकाशनले प्रतिवद्धता जनाएको बताइएको छ । उपाध्यक्ष मियाँ नेतृत्वको टोलीमा महासचिव परवेज अन्सारी, सचिव रहिम मियाँ, संघका काठमाण्डौ अध्यक्ष मिनाज खान लगायतको उपस्थिती रहेको थियो ।
केहि समयअघि प्रकाशन गरिएको कक्षा १० को सो पुस्तकमा इस्लाम धर्मको इतिहास, उत्पति, आस्था, विश्वास, संस्कृति, रीतिरिवाज, भेषभुषा लगायतका बारे गलत व्याख्या गरिएको भन्दै इस्लाम धर्मका अगुवा, नागरिक समाज, विभिन्न संघसंस्था लगायतले तत्काल सच्याउन माग गर्दै आएका थिए ।
