काठमाडौँ । नेपाली कांग्रेसले गोरखाको अजिरकोट गाउँपालिका वडा नं. ५ मुच्चोक घर भई चितवनको रत्ननगर नगरपालिका-१० स्थित शिशु निकेतन बोर्डिङ स्कुलकी १४ वर्षीया छात्रा शालिन पोखरेलको केही दिनअघि सोही स्कुलको होस्टलमा मृत्यु भएको घटना र त्यससँग जोडिएका शङ्कास्पद विवरणप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
कांगेसले आज विज्ञप्ति जारी गर्दै विद्यालयको अभिभावकत्वमा उज्यालो भविष्यका लागि अध्ययन गरिरहेकी एउटी बालिका झुन्डिएको अवस्थामा मृत भेटिनु र त्यसका पछाडि आत्महत्या दुरुत्साहन या हत्याको आशङ्काको स्थिति पैदा हुनु अत्यन्तै गम्भीर रहेको उल्लेख गरेको छ । कांग्रेस यो घटनालाई निष्पक्ष ढङ्गले गहन अनुसन्धान गरी छिटोभन्दा छिटो सत्य, तथ्य बाहिर ल्याउन र दोषीलाई कारबाहीका लागि सरकारसँग माग गरेको छ ।
यो दुखद् क्षणमा बालिका शालिन पोखरेलप्रति श्रद्धाञ्जलि अर्पण गर्दै कांग्रेसले उनको परिवारजनप्रति समवेदना व्यक्त गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै पोखरेलको मृत्यु प्रकरणको गहिरो र विश्वसनीय अनुसन्धान गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समेत माग गरेका छन् ।
शनिबार सामाजिक सञ्जालमार्फत् ओलीले उक्त माग गरेका हुन् । उनले घटनालाई अनुसन्धान गर्ने निकाय भन्दा बाहिरबाट हुने हल्ला र अफवाहले असहयोग पुगिरहेको हुने भन्दै हत्या वा आत्महत्या के हो, गहिरो र विश्वसनीय अनुसन्धान गरेर बाहिर ल्याउन माग गरेका छन् ।
यसैगरी उनकाे मृत्यु प्रकरणको निष्पक्ष छानबिन गरी सत्यतथ्य छिटाे बाहिर ल्याउन सामाजिक सञ्जाल मार्फत माग र दबाब गर्नेकाे संख्या समेत बढ्दै गएकाे छ ।