काठमाडौँ । चितवन स्थित होस्टेलको कोठामा मृत भेटिएकी सालिन पोख्रेलको शव पोस्टमार्टमका लागि काठमाडौँ स्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।
चितवनको रत्ननगर नगरपालिका १० मा रहेको एकता शिशु निकेतन विद्यालयमा कक्षा ८ पढ्ने पोखरेल १२ गते शनिबार होस्टेलको कोठामा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।
चितवनमा पोष्टमार्टम गर्न परिवारले नमानेपछि उनको शव काठमाडौँ ल्याइएको हो । पोष्टमार्टम भइसकेपनि रिपोर्ट भने आइनसकेको बताइएको छ । चितवनमा पाेष्टमार्टम गर्दा षड्यन्त्र हुन सक्ने परिवारकाे अनुमानपछि उनकाे शव त्रिवि शिक्षण अस्पतालमा ल्याइएकाे बताइएकाे छ ।
गोरखाको अजिरकोट गाउँपालिका वडा नं. ५ मुच्चोक घर भएकी १३ बर्षिया पोखरेल होस्टलको कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।
घटनापछि मृतक किशोरीका आफन्तले आत्माहत्या नभएर बलात्कारपछि हत्या गरिएको भन्दै प्रहरीमा किटानी जाहेरी दिएका थिए।
सोको आधारमा छात्राको रहस्यमय मृत्युबारे अनुसन्धान गर्न प्रहरीले तीनजनालाई पक्राउ गरिसकेको छ ।
पक्राउ पर्नेहरूमा स्कुलका प्रिन्सिपल बालहरी देवकोटा, सहायक प्रिन्सिपल किरणबहादुर अधिकारी र होस्टलका वार्डेन कमल पौडेल छन्।
उनीहरूमाथि अनुसन्धान गर्न सात दिन हिरासतमा राख्न चितवन जिल्ला अदालतले अनुमती समेत दिएको छ ।
छात्रावासमा बालिका शलिनको मृत्यु भएपछि सामाजिक सञ्जालमा उनको लागि न्याय माग गरिरहेका छन् । उचित छानबिन तथा मृतकले न्याय पाउनुपर्ने बताउँदै आइरहेका छन् ।