काठमाडौँ । गोरखाको अजिरकोट गाउँपालिका वडा नं. ५ मुच्चोक घर भएकी १४ बर्षिया शालिन पोखरेल गत शनिबार बिहान चितवन स्थित होस्टेलको कोठामा मृत भेटिइन्। चितवनको रत्ननगर नगरपालिका १० मा रहेको एकता शिशु निकेतन विद्यालयमा कक्षा ८ पढ्ने पोखरेल १२ गते शनिबार होस्टेलको कोठामा झुण्डिएको अवस्थामा फेला परेकी हुन्।
उनी हजुरआमाको दिदीको घर नजिकै रहेको विद्यालयमा पढ्दै आएकी थिइन्। शालिनको आमा बुवाको केही वर्षअघि सम्बन्ध विच्छेद भएपछि उनी मामाघरको हजुरआमाको साथमा रहेकी थिइन्। उनका बुवा काठमाडौं बस्ने र आमा विदेशमा रहेको पारिवारिक स्रोतले बताएको छ।
शुक्रबार साँझसम्म जेठी हजुरआमासँग कुरा गरेर होस्टेल फर्किएकी शालिनलाई शनिबार बिहान झुण्डिएको अवस्थामा फेला पारिएको हो। शनिबार बिहान शालिनसँगै बस्ने बालिकाहरूले उनलाई मृत अवस्थामा देखेपछि रोइकराई गर्दै होस्टेल बाहिर निस्किएका थिए।
उनीहरूको कोलाहाल सुनेर विद्यालय नजिकै रहेका स्थानीयहरु पुग्दा शालिनलाई घाँटीमा डोरी लगाएर झुण्डिएको अवस्थामा फेला पारेका थिए। घँटीमा डोरी लगाएर पंखामा झुण्डिएको अवस्थामा भेटिएकी शालिनको आत्महत्या नभएर बलात्कारपछि हत्या गरेर झुण्ड्याइएको आफन्तले दाबी गरेका छन्।
घटनापछि मृतक किशोरीका आफन्तले आत्माहत्या नभएर बलात्कारपछि हत्या गरिएको भन्दै प्रहरीमा किटानी जाहेरी दिएका थिए।
सोको आधारमा छात्राको रहस्यमय मृत्युबारे अनुसन्धान गर्न प्रहरीले तीनजनालाई पक्राउ गरिएको डीएसपी भण्डारीले बताए।
पक्राउ पर्नेहरूमा स्कुलका प्रिन्सिपल बालहरी देवकोटा, भाइस प्रिन्सिपल किरणबहादुर अधिकारी र होस्टलका वार्डेन कमल पौडेल छन्।
‘घटनामा संलग्न भएको आरोपमा ३ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेका छौँ’, डीएसपी भण्डारी भने, ’काठमाडौं लगेर शव पोस्टमार्टम भएको छ। रिपोर्ट आएपछि थप अनुसन्धान अघि बढ्छ।’