• शुक्रबार, साउन ८ २०८३

भरतपुर भ्रमण वर्षको उद्घाटन भाेली, के छ तयारी ?


बिहिबार, फाल्गुन १७ २०८०
1.8K
Shares

चितवन। भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन कार्यक्रमको भाेली शुक्रबार हुने भएकाे छ। उद्घाटन कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको भरतपुर महानगरपालिकाले जनाएकाे छ ।

भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नारायणी नदी किनारमा गर्ने कार्यक्रम छ। भ्रमण वर्ष २०२४ को उद्घाटनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहीबार नै चितवन जाँदै छन्।

उद्घाटन समारोहमा पूर्व प्रधानमन्त्री, संघीय सरकारका मन्त्री, सातै प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्रीहरू, संघ तथा प्रदेश सांसदहरुलगायत तथा विशिष्ट व्यक्तिहरुको उपस्थिति रहने छ।

भरतपुर भ्रमण वर्षको उद्घाटनमा मेयर रेनु दाहालको निम्तो स्वीकार्दै  केपि ओली पनि चितवन जाने भएका छन्।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री झलनाथ खनाल र तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी पनि शुक्रबार नै भरतपुर पुग्दैछन्।

भरतपुर महानगरपालिकाका सञ्चारविज्ञ सुरेशचन्द्र अधिकारीका अनुसार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बिहीबार नै चितवन पुग्दैछन्।

उनीहरू सबैलाई भरतपुर महानगरले पूर्वप्रधानमन्त्रीको हैसियतमा निम्ता दिएको हो। तर पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कार्यक्रममा सहभागी हुन नसक्ने जानकारी पठाएका छन्।

करिब ५० हजार जना सहभागी हुने अपेक्षा गरिएको उद्घाटन समारोहमा राष्ट्रिय कालकारहरूको प्रस्तुति रहनेछ भने, विभिन्न साँस्कृतिक झाँकीहरु प्रर्दशन गरिनेछ। महानगरपालिकाका २९ वटै वडाका वडाध्यक्षको नेतृत्वमा विद्यालय, धार्मिक तथा जातीय समुदाय, विभिन्न सामाजिक संघसंस्था, नागरिक समाज, विभिन्न जातजाति सांस्कृतिक झाँकीसहित सहभागी हुनेछन्।

‘घुमाैं भरतपुर’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको भ्रमण वर्ष सफल पार्न महानगर प्रमुख रेनु दाहालको संयोजकत्वमा २०२४ सदस्यीय मूल समारोह समिती तथा ७ सदस्यीय निर्देशन समिति गठन गरिएको छ।

महानगरका गन्तव्यहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रर्वद्धन गर्ने, पर्यटकको संख्या र बसाइँ अवधि वृद्धि गर्ने तथा दिगो पर्यटन विकासबाट आर्थिक समृद्धि प्राप्त गर्ने उद्देश्यले आयोजना गर्न लागिएको भ्रमण वर्षले यस आसपासका क्षेत्रहरुको आर्थिक तथा पर्यटन क्षेत्रलाई टेवा दिने अपेक्षा गरिएको महानगरपालिका प्रमुख दाहालले बताइन्।

भरतपुर भ्रमण वर्षमा विभिन्न निजी क्षेत्र तथा विभिन्न संघसंस्थाहरुको अगुवाईमा वर्ष भरी ५१ वटा विभिन्न कार्यक्रमहरु सञ्चालन हुनेछन्। भ्रमण वर्षमा करिब २ लाख बाह्य पर्यटक तथा ५ लाख आन्तरिक पर्यटक भित्र्याउने महानगरले लक्ष्य लिएको छ।

भ्रमण वर्षमा आउने पाहुनाहरुलाई सेवा प्रदान गर्न महानगरपालिकाभित्र होटलहरुमा ७ हजार ५ सय बेड र सौराहादेखि गैंडाकोटसम्म १५ हजार बेड तयारी अवस्थामा राखिएको महानगरका पर्यटन विज्ञ विश्वराज सुवेदीले जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार