गोरखा । गोरखा नगरपालिकाले आज बोलाएको नगर सभा अन्तिम समयमा आएर स्थगित गरेको छ । आवस्यक तयारी नपुगेको भन्दै अन्तिम समयमा नगरसभा स्थगित गरिएको हो ।
आज फागुन १७ गते बिहिबारका लागि नगरसभा आयोजना गर्न ३ हप्ताअघि निर्णय भएपनि तयारी नपुगेको भन्दै एक हप्ताका लागि सभा स्थगित गरिएको हो ।
‘हिजो (बुधबार) कार्यपालिका बैठक थियो, धेरै विषय हामीले टुंग्याएका छौ, केही कुरा निर्णयमा पुग्न बाँकी रह्यो,’ नगर प्रमुख कृष्णबहादुर रानाले भने,‘सोही अनुरुप आवश्यक तयारी गर्नका लागि सभा एक हप्ता पर सारिएको हो ।’ उनका अनुसार आगामी फागुन २४ गतेका लागि नगरसभा बोलाइएको छ ।
यता उपमेयर मसलीमाया थोकर (सपना पुन) ले भने तिन हप्ताअघि नगरसभा गर्ने निर्णय हुदा समेत तयारी नपुगेको भन्दै अन्तिम समयमा आएर स्थगित गर्नु हास्यास्पद रहेको जिकिर गरिन् ।
‘३ हप्ताअघि १७ गते नगरसभा गर्ने निर्णय भएको हो, १७ गते नगरसभा १६ गते मात्रै कार्यपालिका बैठक बोलाइयो’ उनले भनिन् ‘बहुमत सदस्यले प्रकृया लत्याउन खोजिएको, कार्यपालिकालाई बाहेस गर्न खोजिएको भन्दै आवाज उठाएपछि तयारी पूरा गर्न नगरसभा १ हप्ता पर सारिएको हो ।’
नगरसभा हुनु ७२ घण्टाअघि सभाको कार्यसूचीमा भएका एजेण्डा सबै कार्यपालिका सदस्यलाई जानकारी दिनुपर्ने प्रावधान रहेपनि त्यसो हुन नसकेको उपमेयर पुनको भनाई छ । त्यस्तै नगरसभाको तयारीका लागि विषयगत समितिको बैठकहरु समेत नबसेको उनले बताइन् ।
‘विवाद केहि छैन, तर प्रकृया पुगेन भन्ने बहुमत सदस्यको आवाज हो’ उनले थपिन् ‘अब २० गते कार्यपालिका बैठक बोलाइएको छ, २४ गतेसम्म बाँकी सबै प्रकृया सकेर नगरसभा गर्ने तयारी छ ।’
यस अघि आज बिहिबार नगर सभा गर्ने भन्दै नगरपालिकाले सार्वजानिक सूचना जारी गरेको थियो । आज नगरपालिका र वडा कार्यालयकाका सम्पूर्ण सेवा बन्द हुने सार्वजनिक सूचना मार्फत जानकारी दिइएको थियो । बुधबार पुनः सूचना जारी गर्दै नगरपालिकाले २४ गतेका लागि सभा स्थगन गरेको जानकारी दिएको छ ।
उक्त दिन जनप्रतिनिधि र कर्मचारी सबै सभामा उपस्थित हुनु पर्ने भएकाले गोरखा नगरपालिका कार्यालय र वडा कार्यालयका अत्यावश्यक बाहेकका सबै सेवाप्रवाह बन्द हुने सूचना मार्फत जानकारी दिइएको छ ।
जिल्लाका ११ स्थानीय तह मध्ये गोरखा नगरपालिका बाहेक १० वटा स्थानीय तहले यस अघि नै हिउँदे सभा गरिसकेका छन् । गोरखा नगरपालिकामा भने कार्यपालिका बैठकमा पेश भएका खानेपानी तथा सरसफाई ऐन, बजेट तथा कार्यक्रमका कतिपय विषय टुंगिन नसक्दा नगर सभा हुन सकेको थिएन ।