काठमाडौँ । अस्ट्रेलियाको सिड्नीमा बसोबास गर्ने नेपाली भाषीहरुलाई एकसुत्रमा बाध्न ’मेगा प्रोजेक्ट’को थालनी भएको छ । नेपाली भाषीहरुको एकता, उनिहरुको आस्थाको सम्मान र नेपाली संस्कृतीको संरक्षणका लागि सिड्नीमा ’बहुआयामिक, बहुसाँस्कृतिक’ भवन निर्माणमा त्याँहा कार्यरत नेपालीहरु जुटेका हुन् ।
नेपाली समुदायकै स्वामित्वमा रहने गरी बहु उदेश्यीय, बहुआयामिक र बहुसाँस्कृतिक भवन बनाउने अभियानको सुरुवात गरिएको हो । जसका लागि केहिदिन अघि मात्रै सो अभियान अघि बढाउन विष्णु हमालको संयोजकत्वमा ३१ सदस्यीय तदर्थ समिति गठन भएको छ ।
हाल अस्ट्रेलियामा १ लाख ९० हजारको हाराहारीमा नेपाली बसोबास गर्छन् । जसमा सिड्नीमा मात्रै करिब ९० हजार जना नेपाली रहेको अभियानका तदर्थ समितिका सचिव शिव वञ्जाराले बताए ।
अभियान अन्तर्गत पहिलो चरणमा दर्ता प्रकृयामा गई समितिलाई वैधानिकता दिन अप्रिल २८ मा आम भेलाको आयोजना गरिएको छ । भेलाले तदर्थ समितिलाई पूर्णता प्रदान गर्ने, कानूनी प्रकृया अघि बढाउने, अभियानको कार्ययोजना पास गर्नेछ ।
’यो मेरोमात्रै होइन, सिड्नीका हरेक नेपाली भाषीको सपना हो, यसका लागि हामीले धेरै लामो समय प्रयास, संघर्ष र प्रतिक्षा गरेका छौ’ तदर्थ समितिका सचिव बञ्जाराले सिभिलखबरसंगको कुराकानीमा भने ‘यो अभियान कुनै जात, धर्म, भाषा, भूगोल र लिङ्गसंग सम्बन्धित छैन, सबैलाई एउटै मालामा गास्दै विश्वभर नेपालीकाे संस्कृतीलाई चिनाउने र अष्ट्रेलियाका प्रवासी नेपालीहरुलाई जाेड्ने सामुहिक प्रयास अनि अभियान पनि हाे ।’
वञ्जाराका अनुसार अभियान अघि बढाउन ’सटटर्म, मिडटर्म र लङटर्म’ गरि कार्ययोजनालाई तिन चरणमा विभाजन गरिएको छ । जसको पहिलो चरणमा २०२५ को डिसेम्बरसम्म भवनका लागि जग्गा खरिद गरिनेछ । बहुउदेश्यिय भवनका लागि सिड्नीमा कम्तिमा २५ देखि ३० रोपनी जग्गा खरिद गर्ने योजना समितिले बनाएको छ । जसकालागि ४५ करोड रुपैया लागतको अनुमान गरिएको सचिव बञ्जारा बताउँछन् ।
’हाम्रो योजना अनुसार भवन बनाउन कम्तिमा २५ देखि ३० रोपनी जग्गा आवस्यक पर्छ, त्यसको नेपाली लागत करिब ४५ करोड रुपैया आसपास हुन आउछ’ उनले भने ।
सोको लागि छिट्टै सिड्नी मै सप्ताहव्यापी महायज्ञ सञ्चालन गर्ने तयारी समितिको छ । सप्ताहसंगै समितिले विभिन्न संघसंस्था तथा इच्छुक व्यक्तिहरुसंग सहयोग रकम समेत संकलन गर्नेछ । त्यस्तै दोस्रो चरण अन्तरगत सन् २०२६ देखि २०२८ सम्ममा भवन निर्माणको काम सकिनेछ । जसमा १ अर्ब ३५ करोड रुपैया लाग्ने अनुमान गरिएको छ ।
यस्तो महत्वाकांक्षी प्रोजेक्ट पूरा गर्न रकम कसरी जुट्छ ? सिभिलखबरको प्रश्नमा सचिव बञ्जाराले भने ’मनमा इच्छाशक्ति भए जसरीपनि पूरा हुन्छ, हामी यसमा विश्वस्त छौ’ उनले थपे ’सबैको हात–एकै साथ’
अभियानले अष्ट्रेलियामा रहेका सबै नेपाली समुदायको आस्थाको सम्मान गर्ने, हरेक समुदायको कला, संस्कृतीको संरक्षण र जगेर्ना गर्ने साथै सबैलाई एकताको सुत्रमा बाँध्नेमा अभियानकर्ताहरु विश्वस्त छन् ।
हाल अस्ट्रेलियामा गैरआवासीय नेपाली संघ अस्ट्रेलिया सहित १२० भन्दा बढी नेपाली संघसंस्थाहरु कृयाशिल छन् । उनिहरुको समेत साथ, सहयोग र सहकार्यमा अभियानलाई अघि बढाउने योजना समितिको छ । ’यो अभियान कुनै एक जनाको वा एउटा संस्था र समुदायको हुँदै होइन, यो त सबैको साझा अभियान र पहल हो’ वञ्जाराले थपे ।
त्यस्तै ’लङटर्म प्लान’ अन्तरगत सन् २०२९ देखि २०३७ सम्मलाई भवनमा आवस्यक पूर्वाधार र संरचना खडा गर्ने साथै भवनको दिर्घकालिन सञ्चालनका लागि कार्ययोजना कार्यान्वयन गरिनेछ ।