• शुक्रबार, साउन ८ २०८३

गोरखामा ४१ प्रतिशत नागरिक स्वास्थ्य बीमाको पहुँचमा


बुधबार, फाल्गुन १६ २०८०
1.3K
Shares

रहमतुल्ला मियाँ

गोरखाका ४१ प्रतिशत नागरिक स्वास्थ्य बीमाको पहुँचमा पुगेका छन् । ११ वटा स्थानीय तह रहेकाे गोरखामा ४१ दशमलव ३९ प्रतिशत नागरिकहरु मात्रै स्वास्थ्य बीमा गराएका हुन् ।

२०७४ असारबाट जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सुरुवात भएको थियो । जिल्लाको कुल २ लाख ५१ हजार २७ जनसंख्या मध्ये २०८० फागुन १५ सम्म जम्मा १ लाख ३ हजार ९०१ जनाले बीमा गराएको स्वास्थ्य बीमा बोर्ड गोरखा शाखाले जनाएको छ । जसमा हालसम्म २० हजार ३ सय १९ परिवार स्वास्थ्य बीमामा आबद्ध छन् ।

जसमा सबैभन्दा बढी गोरखा नगरपालिकामा २५ हजार ८४० जनाले स्वास्थ्य बीमा गराएको शाखाका जिल्ला संयोजक विशाल लौडारीले जानकारी दिए । यस्तै पालुङटार नगरपालिकामा १९ हजार ६८, सिरानचोक गाउँपालिकामा ११ हजार १७७, भीमसेन थापा गाउँपालिकामा ९ हजार ६४६ जनाले स्वास्थ्य बीमा गराएका छन् ।

यस्तै आरुघाट गाउँपालिकामा ९ हजार ४९०, शहिद लखन गाउँपालिका ९ हजार २१०, बारपाक सुलिकोट गाउँपालिका ८ हजार ४६०, गण्डकी गाउँपालिकामा ५ हजार ६६४, अजिरकोट गाउँपालिका २ हजार ५२४, धार्चे गाउँपालिकामा २ हजार ४८ र चुमनुब्री गाउँपालिकामा ७ सय ७४ जनाले स्वास्थ्य बीमा गरेको उनले बताए ।

बीमा गराउनेमा महिला भन्दा पुरुषको संख्या धेरै रहेको छ । ५३ हजार ५०९ जना पुरुषले बीमा गराउँदा ५० हजार ३९२ जना महिलाले बीमा गराएको कार्यालयले जनाएको छ ।

बीमा गराएकामध्ये ७० वर्षभन्दा माथिका १७ हजार ९८८ ज्येष्ठ नागरिक, ७४१ ‘क’ बर्गका अपाङ्गता भएका व्यक्तिको परिवार, १ हजार ८४१ अति गरिब र २४० एचआइभी संक्रमितको परिवारले पनि बीमा गराएका छन् ।

त्यस्तै महिला स्वास्थ्य स्वयंसेविका अन्र्तगत ३६९ परिवारलाई ५० प्रतिशत छुटमा स्वास्थ्य विमा कार्यक्रममा आबद्ध गराइएको उनले बताए ।

‘ज्येष्ठ नागरिक, ‘क’ बर्गका अपाङ्गता भएको परिवार र एचआइभी संक्रमितको परिवारले बीमा गर्दा प्रिमियम ९बीमा गर्दाको पैसा० भने सरकारले तिरिदिने गरेको छ,’ जिल्ला संयोजक लौढारीले भने, ‘अति गरिबको प्रिमीयम सरकारले यो वर्ष भने हटाएको छ ।’

स्वास्थ्य बीमा गर्दा १ देखि ५ सदस्य सम्मको परिवारको लागि ३ हजार ५०० रुपैयाँ लाग्छ । उक्त रकम तिरेपस्चात वर्षभरीमा १ लाख बराबरको सेवा लिने पाउने छन् । यदि ५ जनाभन्दा बढी सदस्य भएको परिवार भए प्रति व्यक्ति ७ सय रुपैयाँ थप्नु पर्छ ।

जसबापत सेवापनि २० हजार थप लिन सक्ने व्यवस्था रहेको छ । १० जनाको परिवार छ भने अधिकतम ७ हजार बुझाउनुपर्ने हुन्छ, भने अधिकतम २ लाख सम्मको सेवा सुवीधा पाउने जनाइएको छ ।

सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बीमा गर्ने व्यक्तिले कुनै पनि सरकारी अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य शल्यक्रिया लगायतका उपचारमा वार्षिक १ लाख रुपैयाँ बराबरको स्वास्थ्य सेवा र निःसुल्क उपचार लिन पाउने छन् ।

प्लास्टिक (कस्मेटीक) सर्जरी, लिङ्ग परिर्वतन, १ हजार भन्दा बढि मुल्यको चस्मा लगायतका सेवा र उपचारलाई बीमाले समेट्दैन् । माघ १ गतेदेखि सहभुक्तानी प्रणाली पनि लागु भएको उनले बताए ।

‘यो प्रणालीमा ज्येष्ठ नागरिक, ‘क’ बर्गका अपाङ्गता भएको परिवार र एचआइभी संक्रमितको परिवार र अति गरिब बाहेकका बिमितले आफ्नो उपचारमा लागेको १० प्रतिशत रकम तिर्नुपर्ने नियम लागु भएको छ,’उनले भने,‘यो प्रणाली २५ बेड भन्दा माथिका अस्पतालमा मात्र लागु हुन्छ ।’

जिल्लामा हाल गोरखा अस्पताल, आँपपिपल अस्पताल, आरुघाट आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्र, जौबारी प्राथमिक स्वास्थ्य केन्द्र र मकैसिंङ प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यक्रम लागु भएको छ । यसैगरी भच्चेक आधारभुत अस्पताल र सहिद स्मृती आधारभुत अस्पतालमा भने उक्त सेवा सञ्चालन हुने तयारी रहेको उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार