• शनिबार, साउन ९ २०८३

गोरखाका झण्डै १७ हजार बालबालिकालाई दादुरा–रुबेला खोप लगाइँदै


सोमबार, फाल्गुन १४ २०८०
1.3K
Shares

गोरखा । गोरखा जिल्लामा नौ महिनादेखि पाँच वर्षमुनिका बालबालिकाका लागि बुधबारदेखि दादुरा-रुबेला खोप अभियान सञ्चालन हुँदैछ ।

अभियान अन्तर्गत गोरखाका १६ हजार ८९० जना बालबालिकालाई खोप दिइने स्वास्थ्य कार्यालय गोरखाको लक्ष्य रहेको छ । आइतबारबाट देशैभरी दादुरा–रुबेला खोप अभियान सुरु भएसँगै गोरखा अस्पतालबाट पनि शुभारम्भ भएको छ ।

जिल्लाका सबै वडाहरुमा भने दादुरा रुबेलाविरुद्ध खोप अभियान अन्तर्गत माघको १६ देखि २२ गतेसम्म खोप लगाईने स्वास्थ्य कार्यालय गोरखाका जन स्वास्थ्य निरीक्षक नानीबाबु दानिले जानकारी दिए ।

सो अभियान अन्तर्गत दुई सय ६२ खोप केन्द्र मार्फत बालबालिकालाई खोप लगाइने उनले बताए । उनका अनुसार जिल्लामा पाँच सय ३८ स्वास्थ्य स्वयंसेविका परिचालन गरी खोप लगाइने छ । लक्षित उमेरका बालबालिकालाई खोप लगाएर दादुरा तथा रुबेला रोग नियन्त्रण गर्ने लक्ष्यका साथ अभियान सञ्चालन गरिएको उनले बताए ।

‘दादुरा–रुबेला रोग लागेको १ जना व्यक्तिले १८ जनासम्मलाई संक्रमण गर्न सक्छ,’ उनले भने, ‘त्यसैले आफ्ना सम्पूर्ण बालबालिकालाई सम्बन्धित खोप केन्द्रमा लगेर खोप लगाइदिन आग्रह गर्छु ।’

साथै यस अभियानमा ५ वर्ष मुनिका बालबालिकालाई छुट भएको नियमित खोप पनि लगाइने भएकोले खोप कार्ड लिई आउन समेत कार्यालयले अनुरोध गरेको छ ।

सन् २०२६ सम्ममा दादुरा–रुबेला रोग निवारण गर्न सरकारले प्रतिबद्धता गरेको थियो । दादुरा–रुबेला खोप नलगाएमा अन्धोपन हुने, पखाला लाग्ने, कान पाक्ने, न्यूमिनिया हुने इन्सेफलाइटिक्स हुने, कम्पन्न हुने तथा बालबालिकाको मृत्युसमेत हुनसक्ने भएकाले नियमित रुपमा खोप लगाउनुका साथै छुटेका बालबालिकालाई समेत अनिवार्य खोप लगाउनुपर्ने कार्यालयले आग्रह गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार