• शनिबार, साउन ९ २०८३

गोरखाका ११ पालिकामध्ये कार्यसम्पादनमा आरुघाट पहिलो


शुक्रबार, फाल्गुन ११ २०८०
1.3K
Shares

गोरखा । गत आर्थिक बर्ष २०७९/८० को कार्यसम्पादन मूल्यांकनमा गोरखाका स्थानीय तहमध्ये आरुघाट गाउँपालिका सर्बोत्कृष्ट भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बुधबार सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार ४८.९५ अंक प्राप्त गरी जिल्लाका ११ पालिकामध्ये आरुघाट पहिलो बनेको हो । मूल्यांकनमा भीमसेन थापा गाउँपालिका दोस्रो बनेको छ ।

उक्तपालिकाले ४४.५५ अंक प्राप्त गरेको आयोगले जनाएको छ । ४३.५४ अंक प्राप्त गर्दै बारपाक सुलिकोट गाउँपालिका तेस्रो बनेको छ । आयोगले सार्वजनिक गरेको नतिजा अनुसार सिरानचोक गाउँपालिकाले ४३.४० अंक प्राप्त गरेको छ भने अजिरकोट गाउँपालिकाले ४२.९१ अंक प्राप्त गरेको छ ।

त्यस्तै पालुङटार नगरपालिकाले ४०.६० र शहीद लखन गाउँपालिकाले ४०.३७ अंक प्राप्त गरेको छ । गण्डकी गाउँपालिकाले ३८.४५ र चुमनुव्री गाउँपालिकाले ३७.०८ अंक प्राप्त गरेका छन् । सबैभन्दा कम धार्चे गाउँपालिकाले २८.११ अंक प्राप्त गरेको छ । दोस्रोकम गोरखा नगरपालिकाले २८.६३ अंक प्राप्त गरेको आयोगले जनाएको छ ।

आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ अनुसार विभिन्न १७ सूचकको आधारमा मूल्यांकन गरेको छ । जसमा असार १० भित्र बजेट पेश गरे/नगरेको, असार मसान्त भित्र बजेट पारित गरे/नगरेको, आय व्ययको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेश गरे/नगरेको, बजेटको वर्षिक समिक्षा गरी कार्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेको, विनियोजित रकम अनुसार खर्चको व्यवस्था, बेरुजुको अवस्था स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र)को प्रयोग गरे/नगरेको जस्ता सूचकहरुका आधारमा मुल्यांकन गरिएको छ ।

त्यस्तै, आवधिक योजना तर्जुमा गरे/नगरेको, कक्षा १ देखि ८ सम्म खुद विद्यार्थी भर्ना दर, कक्षा–८ को तुलनामा कक्षा–९ मा विद्यार्थी टिकाउ दर, सामुदायिक विद्यालयबाट कक्षा १० मा १.६ भन्दा वा सो भन्दा उच्च जीपीए प्राप्त गरेका विद्यार्थी प्रतिशत, ४ पटक गर्भजाँच गरेका महिलाको अनुपात, कुल गर्भवतीमध्ये स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको अनुपात, पूर्ण खोप पाएका बालबालिकाको अनुपात लगायतका सूचकहरु रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार