काठमाण्डाै । भारत हुँदै सलहको एउटा समुह नेपाल छिरेको छ । सलहको यो समुह भारतको बिहार हुँदै नेपाल प्रवेश गरेको हो।
नेपाल प्रवेश गरेकाे सलह बारा जिल्लाको निजगढ, डमरवाना, पिलुवा र मनहरवामा देखिएको स्थानीयले बताएका छन् ।
यी सलहहरु हरियाली भएका खेत बारीमा छपक्कै बस्ने र मानिसको चहलपहल हुनासाथ उड्ने निकै चलाख प्रकृतिको रहेको निजगढका स्थानीयले बताएका छन् ।
यसबाट भएको क्षति बारे केही खुल्न सकेको छैन । अफ्रिकाबाट पाकिस्तान हुँदै भारत आइपुगेको सलह नेपालको बारा जिल्लामा देखिएको विषय बारे कृषि मन्त्रालयले थप अध्ययन गरिरहेको छ।
सलह ठूला ठूला फट्याङ्ग्राहरूको विशाल बथान हो । यसले सबैखाले अन्न तथा नगदे बालीलाई छिनभरमै सखाप पार्छ ।
हावाको दिशा पछ्याएर १ सय ३० किमि प्रतिघण्टासम्मको गतिमा समूह बनाएर उड्ने यी किराको बथानमामा ४ देखि ८ करोड सम्मको संख्या हुने विज्ञहरुको भनाई छ ।