गोरखा । सामाजिक विकास कार्यालय गोरखा उत्कृष्ट कार्यालय घोषित भएको छ । गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सामाजिक विकास कार्यालयको सेवा प्रवाह, कार्यसम्पादन, आर्थिक अनुशासन, सृजनशिलता लगायतका सुचकहरुमा जिल्लाकै उत्कृष्ट कार्यालय घोषित गरेको हो ।
गत शुक्रबार आयोजित प्रदेश स्थापना दिवशका अवसरमा सो घोषणा गरिएको हो । जसमा पाँच सुचकहरुमा सो कार्यालय प्रदेश अन्तरगत गोरखामा रहेका १२ कार्यालयमध्ये उत्कृष्ट कार्यालय घोषित भएको बताइएको छ ।
सेवा प्रवाह र कार्य प्रगतीको अवस्था, आर्थिक सुशासन, कार्यालय ब्यवस्थापन, नविनता र सृजनशिलता, कर्मचारी र आन्तरिक नियन्त्रण जस्ता सुचकहरुमा प्रदेश सरकारकाे मुल्यांकनमा सामाजिक विकास कार्यालयले सबैभन्दा बढी अंक प्राप्त गर्दै उत्कृष्ट बनेको हो ।
स्थापना दिवशमा घोषणा भएको सो कार्यालयलाई आगामी जेठ १५ गते गणतन्त्र दिवशको अवसरमा सम्मान गरिने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
सामाजिक विकास कार्यालयले विशेष गरेर बालबालिका, महिला तथा पिछडीएको समुहको उत्थानका लागि सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने, धार्मिक सम्पदाको संरक्षण तथा निर्माण, सामुदायिक भवनहरु युवा क्लब, आमा समुह, विधालय लगायतको भवन मर्मत तथा निर्माण लगायतको काम गर्दै आएको कार्यालय प्रमुख दिपेन्द्र परियारले बताए ।
त्यस्तै कार्यालय जिल्ला प्रहरी कार्यालयको समन्वयमा गोरखा अस्पतालमा सहायता डेक्स समेत सञ्चालन गर्दै आएको उनको भनाई छ । यसैगरी मानवसेवा आश्रममा रहेका करिब ४५ जना बालबालिकाको पालनपोषणका लागि हरेक दिन प्रतिब्यक्ति १ सय रुपैया समेत सहयोग गर्दै आइरहेको कार्यालयले जनाएको छ ।