काठमाण्डाै । आज (शनिबार) पनि देशका धेरै स्थानमा वर्षा हुने मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार आज दिउँसो धेरै ठाउँमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।
त्यस्तै गण्डकी प्रदेश सहित प्रदेश १, २, बाग्मती र प्रदेश ५ का थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।
महाशाखाका अनुसार अहिले बिहान पनि देशका थोरै स्थानमा वर्षा भइरहेको छ। माैसमविद् बासीका अनुसार अझै २–३ दिन वर्षा रोकिने सम्भावाा देखिँदैन।
महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेकाे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्शमा भनिएकाे छ-
देशभर धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनाका साथै प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी तथा सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। तसर्थ ती क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।