गोरखा । समुदायमा संक्रमण देखिएपछि भीमसेन थापा गाउँपालिका सिल गरिएको छ । केही दिन अघि वडा नम्बर ६ अश्राङका ३ जना, वडा नम्बर ८ बोर्लाङका एक र हिजो शुक्रबार फेरी ३ जना स्थानीयमा कोरोना संक्रमण देखिएपछि गाउँपालिका एक हप्ताका लागि सिल गरिएको हो ।
‘पहिले क्वारेन्टिन भित्र मात्र देखिएको थियो । हामीले लकडाउन पनि खुकुलो बनाएका थियौं,’ गाउँपालिका अध्यक्ष ईश्वर पाण्डेले भने, ‘अहिले समुदाय स्तरमा केही केस देखिएका छन् । अनि सार्वजानिक सूचना जारी गरी अत्यावश्यक बाहेकका सबै आवातजावत ठप्प पारिएको अबस्था छ ।’
उक्त गाउँपालिकाको एक वडाबाट अर्को वडा प्रवेश निषेध गरिएको छ । विभिन्न प्रवेशद्धारमा सुरक्षाकर्मी परिचालन गर्नुका साथै नाकाहरु बन्द गरिएको छ ।
गोरखा–आरुघाट सडकको मुख्य मार्गमा अनुमती पत्र (पास) लिएका सवारी साधन मात्र सञ्चालन गर्न दिइएको अध्यक्ष पाण्डेले बताए ।
‘स्वाब परीक्षणको रिर्पोट नआउदासम्म आवातजावतलाई बन्द गरेका छौं,’ उनले भने, ‘नागरिकलाई सुरिक्षत साथ घरमै बसिदिन आग्रह गरिएको छ । अन्यौलता छ नै तर स्थिती भने सामान्य नै छ ।’
भारतबाट आएर क्वारेन्टिन बसेकाहरुको रिर्पोट नेगेटिभ आएको भन्दै छोडिएको भोलिपल्ट तिनै व्यक्तिको रिर्पोट पोजेटभ आएपछि उनीहरुबाट समुदायमा संक्रमण फैलन पुगेको हो । प्रर्याप्त भेरिफाई नगरी छोड्नु नै गल्ती भएको उनको भनाई छ ।
‘उहाँ त्यहाँबाट छुट्ने बित्तिकै खुसि हुँदै घर जानुभयो, बाटोमा पर्ने एउटा पसलमा चटपट बनाएर खानु भएको रहेछ,’ अध्यक्ष पाण्डेले भने ,‘त्यहीँ खेलिरहेको एउटा बच्चामा संक्रमण भएको परीक्षण पछि थाहा भयो ।’