काठमाडौं। त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. शिवलाल भुसालले त्रिविलाई जनस्तरसम्म जोड्ने काममा कोटेश्वर क्याम्पसको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
कोटेश्वर बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सवको अवसरमा बुधबार जडिबुटीमा आयोजित कार्यक्रममा बोल्दै उपकुलपति भुसालले देशका ७७ वटै जिल्लाका विद्यार्थी अध्ययन गर्ने कोटेश्वर क्याम्पसले देशका दूरदराजमा त्रिवि चिनाउन र जनस्तरसम्म सम्बन्ध जोड्न महत्वपूर्ण भूमिका निभाएको बताएका हुन । कोटेश्वर क्याप्सन त्रिविबाट मान्यता प्राप्त सामुदायिक क्याम्पस हो ।
प्रा.भुसालले गुणस्तरीय शिक्षा प्रदान गर्नमा कोटेश्वर क्याम्पसको योगदान प्रशंसनिय रहेको स्मरण गर्दै भुसालले हरेक क्याम्पसहरुले अब संख्यात्मक भन्दा गुणात्मक शिक्षामा जोड दिनु पर्ने बेला आएको बताए । विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चता तथा प्रत्यायन (क्यू.ए.ए.) प्रमाणिकरण हुन सफल कोटेश्वर क्याम्पसले माग गरेको अवस्थामा बिबिए लगायत जुनसुकै नयाँ कार्यक्रम दिन विश्वविद्यालय तयार रहेको प्रा. भुसालले जानकारी दिए ।
कार्यक्रममा क्याम्पस प्रमुख गोबिन्दबहादुर कार्कीले कोटेश्वर क्याम्पसमा देशका ७७ वटै जिल्लाका विद्यार्थी पढ्न आउने गरेको तथ्यांक प्रस्तुत गर्दै क्याम्पसले अवको ध्यान गुणस्तरीय शिक्षामा मात्र केन्द्रित गरेको बताए । क्यू.ए.ए. प्राप्त गरेपछि कोटेश्वर क्याम्पस अर्को चरणमा प्रवेश गरेको दावी गर्दै कार्कीले अल्पकालित, मध्यकालिन र दीर्घकालिन योजनाका साथ गुास्तर सुधारमा क्याम्पस अगाडि बढ्ने बताए ।
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष रामबाबु नेपालले पढ्नै लागि भनेर देशबाट हजारौ बिद्यार्थी विदेश जाने गरेको स्मरण गर्दै स्वदेशमै गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि पाठ्यक्रममा परिवर्तन हुनु पर्ने आवश्यकतामा जोड दिए । पब्लिक क्याम्पस प्राध्यापक संघ, कोटेश्वर क्याम्पस इकाईका अध्यक्ष सुरेश पोखरेलले क्याम्पसमा अध्यापनरत प्राध्यापकहरुले गुणस्तरलाई ध्यान दिएर पठनपाठन गराईरहेको जानकारी दिए ।
नेपाल पब्लिक क्याम्पस संघका अध्यक्ष सत्रुघ्नप्रसाद गुप्ताले कोटेश्वर क्याम्पसले अब छुट्टै विश्वविद्यालय स्थापना गर्ने हैसियत राख्नु पर्ने आवश्यकता औल्याए । स्वतन्त्र विद्यार्थी युनियन कोटेश्वर क्याम्पसका सभापति सञ्जय बुढाथोकीले अभिभावक, शिक्षक र विद्यार्थीको एउँटै साझा उद्देश्य भनेकै गुणस्तरीय शिक्षा रहेकाले सबैको सहकार्य आवश्यक रहेको बताए ।
कार्यक्रममा गायक प्रकाश तिमिल्सिना र हास्यकलाकार राजा राजेन्द्र तथा विद्यार्थीहरुले विभिन्न नृत्य एवं गीत संगीतका माध्यमबाट मनोरन्जन प्रदान गरेका थिए । समारोहमा २० वर्ष भन्दा बढी समय क्याम्पसमा अध्यापन गरेका प्राध्यापक रेसम पौडेललाई दीर्घ सेवा सम्मान र विद्यावारिधि पुरा गरेका डा. भरत राई र विनोद लिड्देनलाई सम्मान गरिएको थियो ।
खेलकुदमा बिजयी विद्यार्थीहरु र विभिन्न परीक्षामा उत्कृष्ठ नतिजा हासिल गरेका विद्यार्थीहरु खुशी पाख्रिन, पुजा पहाडी, विपना थापा लगायतका विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
यो क्याम्पसमा ३५ सय विद्यार्थी अध्ययनरत छन् । यहाँ प्लस टूदेखि स्नातकोत्तर तहसम्मको पठनपाठन हुदैआइरहेको छ । देशभरिकै सामुदायिक क्याम्पसहरुमध्ये उत्कृष्ठ क्याम्पसको रुपमा चिनिएको कोटेश्वर क्याम्पसले न्युनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ ।