गोरखा । राष्ट्रिय बाणिज्य बैंक आरुघाट शाखाद्धारा स्थानीयलाई वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । आरुघाट गाउँपालिका वडा नम्बर १० मा सार्वजनिक विदाको दिन पारेर हिजो शनिबार स्थानीयलाई साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।
कार्यक्रममा बैंकको सेवा प्रवाह, सेवा लिने तरिका र प्रकृया, बचत, ऋण, वित्तिय अपराध न्यूनिकरणका उपाय तथा वित्तिय कानून लगायतका बारे जानकारी गराइएको शाखा प्रवन्धक सुजन क्याप्छाकी मगरले जानकारी दिए ।
वडा नम्बर १० का वडाध्यक्ष सञ्जित श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय जनप्रतिनिधी, आमा समुह, उपभोक्ता समितिका पदाधिकारी, युवा, स्थानीय बुद्धिजिवी, महिला स्वयम सेविका लगायतको सहभागिता रहेको थियो ।
त्यस्तै शनिबार नै शाखाले आरुघाट गाउँपालिकाको वडा नम्बर ९ र १० मा सामाजिक सुरक्षा भत्ता समेत वितरण गरेको छ । भौगोलिक विकटता तथा बृद्धबृद्धा, महिला अपाङ्गता भएका नागरिक लगायतलाई गाउँगाउँबाट बैंकसम्म भत्ता लिन जान हुने असहजतालाई मध्यनजर गर्दै शाखाले वडा कार्यालयमै पुगेर भत्ता वापतकाे रकम वितरण गरेकाे प्रवन्धक मगरले बताए ।
बैंकमा समेत सामाजिक सुरक्षाको भत्ता लिनेकाे भिड जम्मा हुँदा नियमित सेवा प्रवाहमा समेत अवराेध हुने भएकाले बिदाकाे दिन पारेर वडा मै पुगेर भत्ता वितरण गरिएकाे उनकाे भनाई छ ।