परराष्ट्रमन्त्री नारायणप्रकाश साउद आज (बुधबार) अस्ट्रेलिया प्रस्थान गर्दै छन्।
अस्ट्रेलिया सरकार र इन्डिया फाउन्डेसनको संयुक्त आयोजनामा यही माघ २६ र २७ गते आयोजना हुने सातौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुन मन्त्री साउद अस्ट्रेलियाको पर्थ जाने भएका हुन्।
मन्त्री साउदले माघ २७ गते ‘स्थिर र दिगो हिन्द महासागर तर्फ’ भन्ने नाराका साथ आयोजना हुने सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ।
पर्थमा रहँदा उनले अस्ट्रेलियाका विदेश मामिला मन्त्री सिनेटर द होन पेनी वोङसँग द्विपक्षीय भेट गर्नेछन्। सम्मेलनको छेउमा मन्त्री साउदले मित्र राष्ट्रका सहभागी प्रतिनिधिमण्डलका प्रमुखहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम छ।
त्यस्तै मन्त्री साउद उतैबाट न्युजिल्यान्ड जानेछन्। फागुन २ मा उनले न्युजिल्यान्डका परराष्ट्रमन्त्री विन्स्टन पिटर्ससँग भेटवार्ता गर्ने कार्यक्रम छ।
मन्त्री साउदका साथमा उनकी धर्मपत्नी श्रीमती ज्योत्स्ना अधिकारी साउद र परराष्ट्र मन्त्रालयका अधिकारी पनि जाने छन्। अस्ट्रेलियाका लागि नेपाली राजदूत एचई नेपाली प्रतिनिधिमण्डलमा कैलाशराज पोखरेल पनि सहभागी हुनेछन्।
मन्त्री साउद फागनु ३ गते काठमाडौँ फर्कनेछन्।