कोसी प्रदेशबाट राष्ट्रियसभाको सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौला विजयी भएका छन्। उनले नेकपा एमाले र राप्रपाका संयुक्त उम्मेदवार उद्धव पौडेललाई हराउँदै राष्ट्रियसभाको यात्रा पक्का गरेका हुन्।
प्रदेशसभाको मतगणनामा राप्रपाका पौडेलसँग पछि परेका सिटौला स्थानीय तहतर्फको मत तानेर विजयी भएका हुन्। सिटौलाको पक्षमा स्थानीय तहतर्फको १५३ मतभार र पौडेलको पक्षमा १०९ मतभार परेको छ।
प्रदेशसभाका ९३ सदस्यमध्ये सिटौलाले ४५ जनाको मत पाए। राप्रपाका पौडेलले ४७ मत पाए। सत्तारुढ गठबन्धनको प्रदेशसभामा ४७ मत भए पनि २ जनाले सिटौलालाई मत दिएनन्। एक मत बदर भयो।
स्थानीय तहतर्फ सिटौलाले १५३ मत प्राप्त गरे। राप्रपा उम्मेदवार पौडेलले १०९ मत प्राप्त गरे। स्थानीय तहतर्फ ४ मत बदर भएको छ।
यसमा स्थानीय तहतर्फ एमालेका केही मतदाताको पनि मत सिटौलालाई गएको बताइएको छ।