काठमाडौं । सरकारले भिजिट र पर्यटकीय भिसामा विदेश जानेहरूलाई प्रस्थान अनुमति दिने प्रक्रियालाई सरल बनाएको छ । गृह मन्त्रालयअन्तर्गतको अध्यागमन विभागले बनाएको यो कार्यविधि आजदेखि लागू भएकाे छ ।
यसअघि २०७८ फागुन २५ गते जारी भएको नेपाल सरकार (सचिवस्तर) को निर्णय खारेज गर्दै गृह मन्त्रालयले नयाँ ६ बुँदे कार्यविधि जारी गरेको हो ।
भिजिट भिसामा जान चाहने नेपालीलाई १३ बुँदे यात्रा परामर्श जारी गर्दै विदेश जानका लागि आवश्यक पर्ने ६ वटा कागजातको विवरण सार्वजनिक गरेको छ ।
आज बुधबारदेखि लागू हुनेगरी भिजिट तथा पर्यटक भिसामा विदेश जान आवश्यक पर्ने कागजातमा कम्तीमा ६ महिनाको वैध अवधि भएको राहदानी हुनुपर्ने प्रावधानलाई यथावत राखिएको छ ।
भ्रमण गर्ने देशको अनआराइभल भिजा हुने भए भिजा आवश्यक नपर्ने उल्लेख गरिएको छ । यसैगरी दुईतर्फी हवाई टिकट हुनुपर्ने कुरालाई दोहोर्याइएको छ ।
भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाण वा होटल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र उल्लेख हुनुपर्ने व्यवस्था गरिएको छ ।
भ्रमणको सम्पूर्ण खर्च व्यहोर्ने सरकारी तथा गैरसकारी संस्थाको निमन्त्रणा पत्र वा सो नभएमा कम्तीमा ५ सय अमेरिकी डलर बराबरको नगद सटही भएको प्रमाण पेस गर्नुपर्ने उल्लेख गरिएको छ । यसका लागि डेबिट वा क्रेडिट डलर कार्ड भए पनि हुने पनि उल्लेख गरिएको छ ।
संयुक्त अरब इमिरेटस्, बहराइन, कुवेत, कतार, ओमन र साउदी अरेबियामा भिजिट भिसामा भ्रमण गर्दा स्वघोषणा फारम भर्नुपर्ने अध्यागमन विभागले उल्लेख गरेको छ ।