काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले निःशस्त्रीकरण र विश्व शान्तिको मामिलामा नेपालको प्रतिबद्धता उच्च रहेको बताएका छन् ।
साना हतियारको अवैध व्यापार एवम् प्रयोग नियन्त्रण गर्ने सम्बन्धी संयुक्त राष्ट्रसंघीय कार्ययोजनाको चौथो पुनरावलोकनका लागि काठमाडौंमा सुरु भएको एसिया प्रशान्त क्षेत्रको तीन दिने तयारी बैठक सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सबै प्रकारका हतियारको नियन्त्रणमा नेपालले जोड दिँदै आएको उल्लेख गर्दै मन्त्री साउदले साना हतियारको अवैध व्यापार एवम् प्रयोग नियन्त्रणका लागि मुलुकको आन्तरिक क्षमता बढाउनु पर्नेमा पनि जोड दिए ।
निःशस्त्रीकरण मामिला हेर्ने संयुक्त राष्ट्रसंघकी उपमहासचिव इजुमी नाकामित्सुसँगै एसिया प्रशान्त क्षेत्रका २५ बढी मुलुकका प्रतिनिधिहरु सहभागी बैठकमा परराष्ट्रमन्त्री साउदले नेपालको परराष्ट्र नीति कुनै पनि सुरक्षा गठबन्धनको पक्षमा नहुने रहेको पनि दोहोर्याए ।
बुद्धको जन्मस्थान, शान्ति भूमि नेपालमा निःशस्त्रीकरणका विषयमा आयोजित बैठकले विशेष अर्थ बोकेको उनको भनाइ थियो ।
साना हतियारको अवैध व्यापार नियन्त्रण सम्बन्धी राष्ट्रसंघीय कार्ययोजना सन् २००१ मा अनुमोदन भएयता राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरमा विभिन्न प्रयासहरू भए पनि अवैध हतियारको ओसार–पसार र प्रयोग घटाउन तथा नियन्त्रण गर्न नसकिएको पनि मन्त्री साउदले बताए ।