काठमाडौं । सरकारसँग मौज्दात कोभिड विरुद्धको ४० लाख मात्रा खोपको म्याद गुज्रिएको छ ।
चीनले २०७८ चैतमा अनुदान स्वरुप दिएको ४० लाख डोज सिनोभ्याक खोपको म्याद गुज्रिएको स्वास्थ्य सेवा विभागले जनाएकाे छ ।
गत डिसेम्बरसम्म म्याद रहेको यो खोप पहिलो र दोस्रो मात्रा मात्रै लगाउन मिल्ने राष्ट्रिय खोप सल्लाहकार समितिको निर्णयपछि सरकारले खोप प्रयोग गरेको थिएन ।
साे ४० लाख मात्रा खोप प्रयोगमा नआएपछि सरकारले विसर्जन (डिस्पोजल)को तयारी गरेको छ । चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोनाभाइरसविरुद्धको साइनोभ्याक खोप प्रयोग नगरी म्याद सकिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विर्सजन गर्ने तयारी गरेको हो ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले कोरोना भाइरस विरुद्धको ४० लाख मात्रा खोप विसर्जनको तयारी भइरहेको जानकारी दिए । “खोप प्रयोग नभएपछि म्याद सकिएको छ,” उनले भने, “धेरै मात्रा खोप भएकाले के कसरी विसर्जन गर्ने भन्ने विषयमा कार्यविधि बनाउँदै छौँ ।”
प्रवक्ता डा. बुढाथोकीका अनुसार खोपलाई धेरै तापक्रममा वा इँटाभट्टामा राखेर जलाउने भन्नेमा छलफल भइरहेको छ । बुस्टर डोजका लागि प्रयोग हुन नमिल्ने भएपछि विगत साढे दुई वर्षदेखि स्वास्थ्य सेवा विभागको केन्द्रीय भन्डारणमा खोप थन्किएकाे उनको भनाई छ ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले बुस्टर डोजका निम्ति प्रयोग गर्न नभनेपछि राष्ट्रिय खोप सल्लाहकार समितिले उक्त खोप नलगाउने निर्णय गरेको थियो ।
नेपालमा खरिद र अनुदानमा गरी ६ करोड ७७ लाखभन्दा बढी मात्रा खोप आएको थियो । अहिलेसम्म देशमा जनसंख्याको ८३ प्रतिशतले खोपको पहिलो मात्रा लगाएका छन् । यसैगरी ८३.५ प्रतिशतले खोपको दुई मात्रा लगाएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ ।
यस्तै एक करोड १० लाखभन्दा बढीले बुस्टर मात्रा लगाएका छन् । सरकारसँग अहिले फाइजरको सात लाख ५१ हजार मात्रा खोप मौज्दात छ ।