काठमाडाैँ । नेपाल मेडिकल कलेज अत्तरखेल जोरपाटीमा अध्ययरत विद्यार्थीहरू नौ दिनदेखि आन्दोलित छन्। क्यान्टिनको खाना गुणस्तरीय नभएको प्रश्न उठाउँदा फेल गरिदिने धम्की दिएपछि उनिहरु आन्दाेलनमा उत्रिएका हुन् ।
पहिलो र दोस्रो वर्षका विद्यार्थीहरूलाई होस्टेल अनिवार्य गरिएको छ। यस्तोमा क्यान्टिनको खाना गुणस्तरीय नभएको गुनासो गर्दा पनि त्यही खानुपर्ने अवस्था सिर्जना गरिएपछि विद्यार्थीले आन्दोलन गरेका हुन्।
होस्टेल र क्यान्टिनको खानाका लागि कलेज प्रशासनले पहिले नै १ लाख ५० हजार रूपैयाँ लिएको विद्यार्थीहरूले बताएका छन्।
चिकित्सा शिक्षा आयोगले दुई वर्षअघि नै उक्त रकम अनिवार्य नगर्न निर्देशन दिइसकेको छ। आयोगले पत्र नै काटेर उक्त निर्देशन दिए पनि मेडिकल कलेजले नियमविपरीत रकम लिएको गुनासो विद्यार्थीहरूले गरेका छन्।
कलेजले नियमविपरीतको शुल्क अनिवार्य गराएको विरोधमा आन्दोलनमा उत्रिएका विद्यार्थीहरूलाई फेल गराइदिने धम्की आएको गुनासो उनीहरूको छ।