एआईकाे सहयाेगमा निर्माण भएकाे तस्विर ।
काठमाडौँ । पछिल्लाे समय स्वदेशमा राेजगारी लगायतकाे अवसर र वातावरण नहुँदा विदेशिने नेपालीकाे संख्या बढ्दाे क्रममा छ । काेही राेजगारी त काेही अध्ययनका नाममा नेपाल छाेडेर जानेकाे संख्या बढ्दा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दैनिक हजाराैकाे भिड देखिने गरेकाे छ । यसरी विदेश जानेहरुकाे अस्थायी र स्थायी बसाेबास गरि दुई उदेश्य रहने गरेकाे छ ।
अध्यागमन विभागकाे प्रतिवेदन हेर्ने हाे भने पछिल्लाे चार बर्षमा डेढ लाख जना नेपालीले देश नै त्यागेर विदेशिएका छन् । चार वर्षमा स्थायी रुपमा एक लाख ४७ हजार नेपालीले देश छाडेका हुन् । वर्षेनी स्थायी रुपमा देश छोड्नेको संख्या बढ्दै गएको तथ्यांकमा उल्लेख छ ।
विभागका अनुसार चार वर्षमा १ लाख ४६ हजार ९५१ जना नेपाली स्थायी बसोबास गर्न विभिन्न मुलुक गएका छन् ।
उनिहरु नेपाली नागरिकता त्यागेरै विदेश पलायन भएकाे तथ्यांकले बताउँछ । जसमा सन् २०२० मा ५ हजार १४४ जना नेपालीले स्थायी बसोबासका लागि देश छाडेका थिए । सन् २०२१ मा एक हजार ५४१, सन् २०२२ मा ६९ हजार ३५१ र सन् २०२३ मा ७० हजार ९१५ नेपालीले स्थायी रुपमा देश छाडेका छन् ।
स्थायी बसोबासका लागि अमेरिका, बेलायत, जापान, क्यानडा, अष्ट्रेलिया र युरोपलगायतका धेरै मुलुकमा नेपालीहरू जाने गरेका छन् ।
अन्तर्राष्ट्रिय श्रम संगठनले नेपालीहरू किन देश छाड्न आतुर छन् भनेर अध्ययन प्रतिवेदन सार्वजनिक गरेको थियो । राजनीतिक अस्थिरता, राम्रो जीवनशैली तथा बस्ने वातावरण, काम गर्ने वातावरण, सहज रुपमा काम पाउने, राम्रो तलब, स्थायी बसोबासको कार्ड पाउन सहज, परिवार-आफन्त विदेशमा, विदेशमा रहेका साथी र चिनजानहरू कारण रहेकाे प्रतिवेदनमा उल्लेख छ ।