गोरखा । एकिकरण नेपाल गोरखाले शहिद लखन गाँउपालिकाका ४८ वटा विद्यालयमा बाल विकास कक्षामा अध्यापनरत शिक्षकहरुको लागि प्रारम्भिक बाल कक्षा व्यवस्थापन तथा सहजीकरण सीप विकास तालिम आयोजना गरेको छ ।
प्लानेट इन्फ्यान्ट्स एण्ड डिभलप्मेन्ट (पि.ई एण्ड डी) फ्रान्सको आर्थिक सहयोग तथा गाँउपालिकासंगको समन्वयमा संचालन भएको उक्त तालिममा बाल कक्षामा अध्यापनरत शिक्षकहरु, सामाजिक परिचालक, शिक्षा शाखा गरि कुल ६० जनाको सहभागिता रहेको छ ।
दुई वटा समुह विभाजन गरि संचालन भएको उक्त तालिम सोनी पौडेल तामाङ्ग र भगवती थापाले सहजीकरण गरेका छन् । तालिमलाई उद्घाटन गर्दै गाँउपालिकाको अध्यक्ष रमेश वावु थापा मगरले वालवालिकाको हुकाई र पढाई अनुसार उनीहरुको सोच र मानसिकता विकास हुने र आजको वालवालिका भोलिको देशको कर्णधार भएकाले बालविकासमा कक्षा शिक्षकको अत्यन्तै महत्वपुर्ण भुमिका हुने विश्वास ब्यक्त गरे ।
कार्यक्रममा शिक्षा शाखाको प्रमुख राजेन्द्र खनालले तालिम बाल विकासको पाठ्यक्रम अनुसार संचालन गरिने र थप तालिम आवश्यक भएको खण्डमा पालिकाले अन्य श्रोत व्यवस्थापन गर्न सकिने समेत जानकारी दिए ।
५ दिनसम्म संचालन हुने उक्त तालिम बाल विकास, बाल विकासको पाठ्यक्रम, कक्षा कोठा व्यवस्थापन, शिक्षण विधिमा खेल, स्थानीय सामाग्रीहरुको प्रयोगद्धारा प्रभावकारी सिकाई, कक्षाकोठा व्यवस्थापनको ६ तत्वहरुमा लक्षित हुने एकिकरण नेपाल गोरखाको कार्यकारी निर्देशक हरि देवकोटाले जानकारी दिए ।
कार्यक्रम एकिकरण नेपाल गोरखाका अध्यक्ष मिलन सिंह वस्नेतको अध्यक्षतामा भएको थियो ।