गोरखा । गोरखाको भिमसेनथापा गाउँपालिका १ घ्याम्पेशालस्थित खाञ्चोक स्वास्थ्यचौकीमा सम्पन्न किमाेलुङ निशुल्क स्वास्थ्य शिविरमा ७९३ जनाले स्वास्थ्य सेवा लिएका छन् ।
भिमसेन थापा गाउँपालिका, किमोलुङ फाउण्डेशन नेपाल र करुणा मेडिकल इन्टरनेशनलको संयुक्त सहकार्यमा भएकाे ३ दिने निशुल्क स्वास्थ्य शिविरबाट ७९३ जनाले सेवा लिएका हुन् ।
सेवा लिएकाहरुमध्ये ३२० जनाले अकुपञ्चर विधिबाट सेवा लिएका आयोजक किमोलुङ फाउण्डेशन नेपालका संस्थापक एवं अध्यक्ष वाङचुक राप्तेन लामाले जानकारी दिए । उनका अनुसार अकुपञ्चार प्रविधिबाट हाडजोर्नीका बिरामी, ज्यान दुख्ने, खुट्टा झमझम गर्ने तथा दुख्ने, टाउको दुख्ने, माइग्रेन लगायतका समस्याको उपचार गरिएको थियो ।
शिविरमा विशेषज्ञ चिकित्सक तथा अन्य गरी २५ जना विदेशी र चिकित्सक तथा अन्य गरी २० जना नेपाली स्वास्थ्यकर्मीको टोलीले परीक्षण र उपचार सेवा दिइरहेका थिए । शिविरमा पालिकाअन्तर्गतका सबै स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुले पनि शिविरमा सेवा दिइरहेका थिए ।
शिविरमा छाला सम्बन्धी समस्या, नसा तथा हाडजोर्नी सम्बन्धी समस्या, हात खट्टामा खिल पल्टेको, कोठी पलाएको, मुसा पलाएको, टाउको दुख्ने, माइग्रेन लगायतका स्वास्थ्य समस्याको उपचार गरिएको थियो ।
गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बञ्जराको अध्यक्षतामा सम्पन्न स्वास्थ्य शिविर समापन समारोहमा उनले धन्यवाद ज्ञापन गरेका थिए ।