• शनिबार, साउन ९ २०८३

अजिरकाेटकाे ओलाङमा निर्माण भएकाे सुपर चेपेको ९ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो


बुधबार, पुष २५ २०८०
1.6K
Shares

काठमाडौं । गोरखा जिल्लाको अजिरकोट गाउँपालिका वडा नम्बर २ ओलाङमा निर्माण सम्पन्न भएको सुपर चेपे खोला जलविद्युत् आयोजनाको ९.०५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । रिज लाइन इनर्जी प्रालिले निर्माण सम्पन्न गरेको आयोजनाको विद्युत् प्रणालीमा जोडिएको हो ।

आयोजनाको सिभिल संरचना तथा उपकरण जडान पूरा गरी आन्तरिक परीक्षणपछि हिजो (पुस २१ गते) देखि प्रणालीमा जोडिएको कम्पनीका इन्जिनियर प्रतिक आचार्यले बताए । उनले नेपाल विद्युत् प्राधिकरणले तोकेको व्यापारिक उत्पादन मिति (सिओडी) भन्दा ५ महिनाअघि नै उत्पादन परीक्षण सुरु गरेको जानकारी दिए ।

प्राधिकरणसँग भएको विद्युत् खरिद सम्झौता (पिपिए)अनुसार २०८० जेठभित्र विद्युत् उत्पादन थाल्नुपर्ने थियो । तर, कोभिड–१९ का कारण उत्पादन तालिका एकवर्ष ढिलाे हुँदा २०८१ जेठमा पुगेको छ । उत्पादन तालिकाभन्दा ५ महिनाअघि नै आयोजनाको विद्युत् प्रणलीमा जोड्न सफल भएको आचार्यले बताए ।

आयोजनाबाट उत्पादन भएको विद्युत् ३३ केभी प्रसारण लाइनमार्फत १९.९१ किलोमिटर दुरीमा रहेको प्राधिकरणको कीर्तिपुर सबस्टेसनमा जोडिएको छ । सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइन कम्पनी आफैँले निर्माण गरेको हो ।

आयोजनामा ३४११ मिटर हेडरेस पाइप र ११९५ मिटर पेनस्टक पाइप निर्माण गरिएको छ । आयोजनाको काम १ अर्ब ६२ करोड रुपैयाँ लागतमा सम्पन्न भएको अनुमान गरिएको छ । आयोजनामा वाणिज्य बैंकको ७० प्रतिशत ऋण लगानी छ । बाँकी स्वपूँजी लगानी छ ।

कम्पनीले आयोजनाको स्थलगत निर्माणकाे काम २०७८ मंसिरदेखि सुरु गरेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार