काठमाडौं। आफूलाई तपस्वी भन्ने रामबहादुर बम्जन लाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ। तपस्वीको भेषमा अनुयायीको हत्या गरेको, बेपत्ता बनाएको र बलात्कार गरेको आरोप लागेका बम्जन प्रहरीको फरार सूचीमा थिए।
उनलाई मंगलबार साँझ काठमाडौँबाट पक्राउ गरेको सीआईबीका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।
हिजाे साँझ पक्राउ परेका रामबहादुर बम्जनको बुढानीलकण्ठस्थित निवासबाट ३ करोड रुपैयाँभन्दा बढी नगद बरामद भएको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीले) बुढानीलकण्ठस्थित बम्जनको घरबाट ३ करोड ३ लाख ७५ हजार रुपैयाँ बरामद भएको जनाएको छ।
सीआईबी प्रमुख किरण बज्राचार्यले केही मात्रामा विदेशी मुद्रा पनि बरामद भएको जानकारी दिइन् । ‘त्यसबाहेक १५ वटा मोबाइल, ल्यापटप र ३० भन्दा बढी पेन ड्राइभ पनि बरामद भएको छ’, एआईजी बज्राचार्यले भनिन् ।
लिटिल बुद्ध उपनामले परिचित बमजन मङ्गलवार साँझ पक्राउ परेका थिए । सीआईबीले केही वर्षयता निरन्तर उनको खोजी गरिरहेको थियाे। बमजनलाई आज अदालतबाट म्याद थप गर्ने तयारी भइरहेको छ ।