काठमाडौँ । काठमाडाैँको गोंगबुमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा गोरखा घर भएका २५ वर्षीय युवकको मृत्यु भएको छ। घटनामा मोटरसाइकल चालक घाइते भएका छन्।
काठमाडौँ महानगरपालिका- २६ गोंगबु मित्रनगरस्थित १ नम्बर गेट नजिकै सडकमा गएराति बागमती प्रदेश ०३-००१ प ०५०० नम्बरको टिपरले बा.५४ प ५२६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा ती युवकको मृत्यु भएको हो।
गएराति भएको उक्त घटनामा गोरखा घर भई काठमाडौँको तार्केश्वर नगरपालिका चिसापानी बस्ने २५ वर्षीय रन बहादुर तामाङको मृत्यु भएको काठमडौँ प्रहरीले जनाएको छ। तामाङ गोरखा बारपाक सुलिकोट गाउँपालिका वडा न ३ स्वाँराका रहेकाे बताइएकाे छ ।
मोटरसाइकलका चालक गोरखाकै इमान गुरुङ गम्भीर घाइते भएका छन् । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उनको उपचार भइरहेको छ । प्रहरीका अनुसार, उनीहरू दुवैजना तारकेश्वर नगरपालिका बस्दै आएका थिए ।
टिपर चालक दाङका २५ वर्षीय सविन पुनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको महानगरीय प्रहरी वृत्त महाराजगन्जका प्रमुख एवं डीएसपी अमरबहादुर थापाले जानकारी दिए ।