काठमाडाैँ । लमजुङको बेंसीसहरमा आयोजित ३१औँ राष्ट्रव्यापी त्रिवेणी कप फुटबल प्रतियोगिताको उपाधि लमजुङको लालीगुराँस युवा क्लब भुजुङले उचालेको छ ।
शनिबार सहजी त्रिवेणी रंगशालामा भएको फाइनल खेलमा बेँसीसहर युथ सोसाइटी शेरालाई १–० गोलले पराजित गर्दै लालिगुराँस युवा क्लब भुजुङ च्याम्पियन बनेको हो ।
लालीगुराँस युवा क्लब भुजुङले १९ वर्षपछि त्रिवेणी कपको उपाधि जितेको हो । यसअघि २०६१ मा भुजुङले त्रिवेणीकपको उपाधि जितेको थियो ।
सहजी त्रिवेणी रंगशालामा भएको फाइनल खेलमा बेँसीसहर युथ सोसाइटीका विदेशी खेलाडी एन्ड्रियास नियाले गरेको आत्मघाती गोलका कारण लालीगुराँस युवा क्लबलाई त्रिवेणी कपको उपाधि चुम्न सफल बनायो ।
३१औँ त्रिवेणी कपको विजेता बनेसँगै लालाीगुराँसले आठ लाख रुपैयाँसहित त्रिवेणी कप, स्वर्णपदक र प्रमाणपत्र पाएको छ । उपविजेता बेसीशहर युथ सोसाइटीले नगद चार लाख रुपैयाँ, रजतपदक र प्रमाणपत्र पाएको छ ।
सेमिफाइनलमामा चित्त बुझाएको अभिषेक चर्च रजहर नवलपुर र लाङ्दीदेवी युवा क्लबले १–१ लाख रुपैयाँ र प्रमाणपत्र पाएका छन् । प्रतियोगितामा सुन्दरबजार युवा क्लबका खेलाडी आरोन थापा सर्वाधिक गोलकर्ता घोषित भए भने बेसीशहर युथ सोसाइटीका लक्षु थापा सर्वोकृष्ट खेलाडी घोषित भए ।
उनीहरुले नगद २०÷२० हजार रुपैयाँ, स्वर्ण पदक र प्रमाणपत्र पाएका छन् । प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी, महेन्द्र पुलिस क्लबसहित देशभरबाट २१ टिमले सहभागिता जनाएका थिए । प्रतियोगिता १२ पुबाट सहजी खेलमैदानमा सुरु भएको थियो ।
विजेतालाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डले पुरस्कार वितरण गरेका थिए । जिल्लामा फुटबल खेलको विकास र प्रवद्र्धन गरी व्यवसायीकरण गर्ने र उच्चस्तरीय फुटबल प्रतियोगिता सञ्चालन गर्न, नयाँ खेलाडीलाई प्रोत्साहन, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको क्लबका अध्यक्ष राजकुमार घिमिरेले बताए ।
जिल्लाकै प्रतिष्ठित त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिता प्रारम्भिक वर्षहरूमा खेतका गराहरू भाडामा लिएर एउटा खसीसहित तीन हजार रुपैयाँको प्रथम पुरस्कार राखेर आयोजना गरिएको प्रतियोगिता ३१ वर्षको अवधिमा प्रथम पुरस्कार आठ लाख पुगेको आयोजक त्रिवेणी युवा क्लबका अध्यक्ष घिमिरेले बताए ।