काठमाडाैँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले आगामी माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा सबै १९ सिटमै उम्मेदवारी दिने भएको छ।
शुक्रबार च्यासलमा बसेको केन्द्रीय कमिटी बैठकले आगामी पुस २३ गते राष्ट्रियसभाका १९ वटा सिटमै मनोयन गर्ने गरी निर्णय लिएको महासचिव शंकर पोखरेलले बताए।
‘सातै प्रदेशबाट प्रत्येक क्लस्टरबाट तीनजनाको नाम सिफारिस गर्न भनेका थियौँ। क्लस्टरवाइज नामबारे आजको बैठकमा छलफल गरेका छौँ’, उनले भने, ‘आजको बैठकमा प्रारम्भिक छलफल गरेका छौँ। क्लस्टरमा पर्ने नपर्ने भन्ने कुराबारे टुंगो गरेर १९ ठाउँमै उम्मेदवार टुंगो गर्छौँ।’
आगामी फागुनमा एमालेबाट निर्वाचित ८ जना राष्ट्रिय सभा सदस्य रिक्त हुँदैछन्।