गोरखा । भिमसेन थापा गाउँपालिकामा ३ दिने किमोलुङ स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । यहि पुष २३, २४ र २५ गते गाउँपालिकाको वडा नम्बर १ स्थित घ्याम्पेशालमा रहेको खाञ्चोक स्वास्थ्य चौकीमा तिन दिनसम्म निशुल्क स्वास्थ्य शिविर हुने भएको हो ।
भिमसेन थापा गाउँपालिका, किमोलुङ फाउण्डेशन नेपाल र करुणा मेडिकल इन्टरनेशनलको संयुक्त सहकार्यमा शिविर हुन लागेको हो । शिविरमा सामान्य स्वास्थ्य परिक्षण, अकुपञ्चर, छाला सम्बन्धि लगायतका समस्याहरुको परिक्षण गर्ने र निशुल्क रुपमा औषधी उपलब्ध गराउने किमोलुङ फाउण्डेशनका संस्थापक अध्यक्ष वाङचुक राप्तेन लामाले बताए ।
शिविरमा सामान्य खालका समस्यादेखि अकुपञ्चर अन्तरगत हाड जोर्नी, नसा, पिनास, लामो समयदेखि टाउको दुख्ने, ढाड दुख्ने, हातगोडा दुख्ने, खिल, कोठी, मुसा (शरिरमा मासु पलाएको) लगायतका समस्याहरुको परिक्षण र उपचार हुने अध्यक्ष लामाले बताए । ३ दिने शिविरमा छाला सम्बन्धि समस्या भएका बिरामीको समेत चेकजाँच हुने र निशुल्क औषधी वितरण गरिने उनको भनाई छ ।
शिविरमा विशेषज्ञ डाक्टरसहित ४० जनाको स्वास्थ्यकर्मीको टोली खटिने छन् । हरेक दिन बिहान १० बजेदेखि बेलुका ३ः३० बजेसम्म सञ्चालन गरिने स्वास्थ्य शिविरले भिमसेन थापा गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका, आरुघाट गाउँपालिका, गोरखा नगरपालिका, धार्चे गाउँपालिका, चुमनुब्री लगायत धादिङ जिल्लाका समेत बिरामीहरुले सेवा लिने अनुमान रहेको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख भेषराज खनालले बताए ।