गोरखा । सदरमुकामको हरमटारी खेलकुद मैदानमा कृषि पर्यटन तथा व्यापार मेला २०८० सुरु भएको छ । गोरखा चेम्बर अफ कमर्सको आयोजनामा बिहिबारदेखि मेला सुरु भएको हो ।
उक्त मेलाको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् ।
उद्घाटन गर्दै उनले कृषिमा आधारित घरेलु उद्योगलाई प्रवद्र्धन गर्ने प्रदेश सरकारको नीति रहेकोमा जोड दिए । ‘तपाई उत्पादन गर्नुहोस्, उत्पादनमा हामी अनुदान दिन्छौं, तपाईहरुले गरेको उत्पादनको व्यापार भएन भने हामी किनिदिन्छौं,’ उनले भने,‘हामीले ५० करोड भन्दा बढि उत्पादनमा आधारित अनुदानको लागि बजेट बिनियोजन गरेका छौं । त्यो रकम बजारिकरणमा पनि खर्च गरिनेछ ।’
गोरखालाई आलुको चिप्स र फलफूलमा जोड दिएर अनुदानका कार्यक्रम सञ्चालन गर्ने उनले बताए ।
कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले लगानीको वातावरण बनाइदिन आग्रह गरेका छन् । ‘मुलुकको आर्थिक स्तर निकै खस्किएको छ । यसलाई उकास्न राज्यका तीनै तहले ठोस योजना र कार्यक्रम ल्याउनु पर्छ,’ उनले भने,‘बैंक व्याजदर एक अङ्कमा झार्नुपर्छ, तब मा लगानीका लागि उपर्युक्त वातावरण निर्माण हुन सक्छ ।’
गण्डकी प्रदेशले कृषिलाई प्रथामिकतामा राखेर अघि बढेको गण्डकी प्रदेश नेपाली कांग्रेसका प्रमुख सचेतक नन्द प्रसाद न्योपानेले बताए ।
‘कार्यक्रम सभा समारोहमा कृषिमा उत्पादन गर्ने, पर्यटन प्रर्बदन गर्ने रोजगारी सृजना गर्ने भन्ने तर भने जस्तो भएकोे छैन,’ उनले भने,‘कुनै पनि कृषकलाई काम गरौगरौ भन्ने वातावरण सृजना गर्ने र उत्पादित बस्तुलाई बजारसम्म लैजाने काम हामीले गर्नुपर्छ ।’ गोरखा जिल्लामा उत्पादन भएका बस्तुहरुलाई प्रचार प्रसार गर्दै समग्र गोरखा जिल्लालाई पर्यटन र कृषिमा आधारित रहेर जिल्लामा नयाँ तरिकाले रोजगारको अबस्थाको सृजना गर्दै आर्थिक उत्पादनको उपार्जन गर्दै सबैले आत्मनिर्भर बन्नको निम्ति सधै साथ रह सहयोग गर्ने उनको भनाई छ ।
कार्यक्रममा बोल्दै अर्का प्रदेश सभा सदस्य फणिन्द्र धितालले जिल्लाको अबसर र चुनौतिबारे आवश्यक छलफल हुनु पर्नेमा जोड दिए । त्यिसका लागि आवश्यक सहयोग सहयोग र समन्वय गर्न तयार रहेको उनको भनाई छ । चेम्बरका अध्यक्ष भाइचन्द्र श्रेष्ठले जिल्लाको ब्यापार व्यवसायको अवस्था अवसर र चुनौतिबारे जानकारी गराएका थिए ।
मेलामा जिल्लाका पुराना व्यवसायीहरु ध्रिजबहादुर मास्के, मोहनलाल श्रेष्ठ, बद्री बहादुर मास्के, थिरभक्त श्रेष्ठलाई दोसल्ला र प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।
चेम्बरका अध्यक्ष श्रेष्ठको अध्यक्षता तथा गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा चेम्बरको प्रदेश अध्यक्ष, गोरखा नगरपालिकाका प्रमुख कृष्ण बहादुर रानामगर, जिल्ला प्रशासन कार्यालय गोरखाका प्रमुख भोला भट्टराई, उद्योग बाणिज्य संघ गोरखाका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, नेकपा एमालेका सचिव काजिराम रोका पत्रकार महांसघका अध्यष नरहरि सापकोटा लगायतले मन्तव्य राखेका थिए ।
मेला सुरु गर्नु अघि विभिन्न जातिका मानिसहरुले आफ्नो संस्कृति झल्कने झाँकीसहितको ¥याली प्रर्दशन गरिएको थियो । पुस २९ गतेसम्म सञ्चालन हुने उक्त मेलामा स्थानीय स्तरमा उत्पादित कृषि सामाग्री, हस्तकला, घरेलु उत्पादनहरु प्रर्दशनीमा राखिएको चेम्बरले जनाएको छ ।
करिब ५० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको मेलामा ६ देखि ७ करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ । मेला अवलोकनको लागि प्रवेशशुल्क बापत प्रति व्यक्ति रु १००, विद्यार्थीका लागि रु ५० र अपाङ्ग, जेष्ठ नागरिकहरुको लागि ५० प्रतिशत छुटको व्यवस्था हुने कमर्सले जनाएको छ ।