आज (आइतबार) बिहान सूर्यग्रहण लाग्दैछ। ग्रहणले सूर्यलाई पूरै ढाक्ने भए पनि नेपालबाट भने खण्डग्रास (आधा मात्र ढाकेको) देख्न सकिनेछ।
सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँदा चन्द्रमाले सूर्यबाट आएको प्रकाशलाई छेक्दा यसको छाँया पृथ्वीमा पर्नुलाई सूर्यग्रहण भनिन्छ।
नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमका अनुसार बिहान १० बजेर ५० मिनेटबाट सुरु हुने सूर्यग्रहण दिउँसो २ बजेर २३ मिनेटमा सकिनेछ। मध्याह्न १२ बजेर चार मिनेट जाँदा ग्रहणले सूर्यलाई करीव ८८ प्रतिशत ढाकेको देखिने खगोलविद्ले बताएका छन्।
नेपालबाट अबको करिब ४४ वर्षपछि मात्र यस्तै अर्को सूर्यग्रहण देखिने छ।ग्रहणका समयमा तापक्रम घटेर चिसो अनुभव हुनेछ।
सूर्यग्रहण खाली आँखाले हेर्न हुँदैन। सूर्य ग्रहण हेर्दा आँखाको रेटिनामा सूर्यबाट आएको प्रकाश परेमा रेटिना नष्ट हुन गई मानिस सदाका लागि अन्धोसमेत हुन सक्ने विज्ञहरुले बताएका छन्। सूर्यग्रहण हेर्दा अत्यन्त सावधानी अपनाउनु पर्छ।