काठमाडौं। नेपाल वायुसेवा निगमका पाइलट सम्राटबहादुर शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको अख्तियर दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । पाइलट शाहले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर विमान चालकको हैसियतमा लाभ लिएको भन्दै आयोगले बिहिबार मुद्दा दायर गरेको छ ।
२०७१ फागुन १० गतेदेखि जुनियर क्याप्टेनमा नियुक्त भइ आठौँ तहमा विमान चालकमा बढुवा भएका चालक शाहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको आयोगले जनाएको छ ।
उनले भारतको सेकेन्डरी एजुकेसन काउन्सिल उत्तर प्रदेश अन्तर्गत भीएकजे इन्टर कलेज सराहरी गोरखपुरबाट प्रविणतापत्र तह उत्तीर्ण गरेको शैक्षिक प्रमाणपत्र पेस गरी विमान चालक भएका थिए ।
उनी विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा १ बमोजिमको कसूरमा मुद्दा दायर गरिएको हो।
यो उपदफामा भनिएको छ, ‘कुनै व्यक्तिले राष्ट्रसेवकको ओहदा पाउने वा सो ओहदामा बहाल रहने वा कुनै हैसियत, लाभ वा सुविधा पाउने उद्देश्यले शैक्षिक योग्यता, नाम, तीनपुस्ते, उमेर, जात, थर, ठेगाना, नागरिकता वा योग्यता वा अन्य कुनै कुराको झूटो विवरण दिएमा वा सो सम्बन्धी झूटा प्रमाणपत्र पेश गरेमा निजलाई कसूरको मात्रा अनुसार ६ महीनादेखि एक वर्षसम्म कैद र १० हजार रुपैयाँदेखि २० हजार रुपैयाँसम्म जरिवाना हुनेछ।’