गोरखा । सम्भव नेपालले गोरखाका ६ वटा स्थानीय तहलाई एम्बुलेन्स सहयोग गरेको छ । सम्भव नेपालका अध्यक्ष प्रेमकुमार खत्रीको उपस्थितीमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ६ वटा स्थानीय तहका प्रमुखलाई एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।
एम्बुलेन्स अजिरकोट गाउँपालिकाको भच्चेक आधारभुत अस्पताल, बारपाक सुलिकोटको शहीद प्रेम ढकाल स्मृती आधारभुत अस्पताल, सिरानचोकको श्रीनाथकोट स्वास्थ्य चौकी, गण्डकी गाउँपालिकाको दुर्बङ स्वास्थ्य चौकी, आरुघाट गाउँपालिकाको थुमी स्वास्थ्य चौकी, चुमनुब्री गाउँपालिकाको सिर्दिबास स्वास्थ्य चौकीमा सञ्चालन हुने गरी सहयोग गरिएको सम्भव नेपालले जनाएको छ ।
त्यस्तै पालुङ्गटार नगरपालिकाका लागि सहयोग गर्ने भनिएको एम्बुलेन्स भने प्रकृयामै रहेको जिल्लामा कार्यक्रम संयोजन गरेका शरण श्रेष्ठले बताए ।
सहयोग गरिएको ख वर्गको एम्बुलेन्ससँगै हरेक पालिकालाई भ्याक्सीन रेफ्रिजियर ९आईएलआर० वेड सेट, हिटर, डेलिभरी वेड, स्टेचर, स्पाईनल बोर्ड, ह्वील चियर लगायतका सामग्री समेत हस्तान्तरण गरिएको छ ।
एम्बुलेन्स र स्वास्थ्य सामग्री सहित २ करोड ३६ लाख रुपैयाँ बजेट लगानी भएको संस्थाले जनाएको छ ।
उक्त संस्थाका अध्यक्ष खत्रीले यस अघिपनि गोरखाको ६ वटा स्थानीय तहहरु, गण्डकी गाउँपालिक १, भिमसेन थापा १, गोरखा नगरपालिका २, धार्चे गाउँपालिका १, शहिदलखन १ थान एम्बुलेन्स बितरण गरेका थिए ।
गोरखाको आरुघाट गाउँपालिका निवासी खत्री नेपाली काँग्रेसका महासमिति सदस्य समेत हुन् ।