काठमाडौँ आइपुगेका भारतका विदेशमन्त्री एस जयशंकरलाई विमानस्थलमा स्वागत गर्दै परराष्ट्रमन्त्री एनपी साउद
काठमाडाैँ । भारतका विदेशमन्त्री एस जयशंकर काठमाडौँ आइपुगेका छन्।
बिहीबार बिहान सबा नाै बजे विशेष विमानमार्फत त्रिभुवन विमानस्थलमा अवतरण गरेका उनलाई परराष्ट्र मन्त्री एनपी साउद र परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालले स्वागत गरेकी छन्।
विदेशमन्त्री जयशंकर समकक्षी एनपी साउदको निमन्त्रणमा नेपाल भ्रमणमा आएका हुन्। उनी भारतीय वायु सेनाको विश्ष विमानबाट काठमाडौं उत्रेका हुन्।

भारतका विदेशमन्त्री एस जयशंकरसंग विमानस्थलमा भेटवार्ता गर्दै परराष्ट्रमन्त्री एनपी साउद लगायत
नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन उनी नेपाल आएका हुन्।
जयशंकरले आजैदेखि नै राजनीतिक भेटवार्ता थाल्ने भएका छन्। उनले सबैभन्दा पहिले राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्ने कार्यक्रम तय भएको छ।
विदेशमन्त्री जयशंकर ११ बजे राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास जानेछन् । त्यहाँबाट फर्केपछि मध्यान्ह १२ बजे प्रधानमन्त्री प्रचण्डसँग बालुवाटारमा भेटघाट गर्ने छन् ।
त्यसलगत्तै १ बजे परराष्ट्र मन्त्री साउदसँग होटल याक एण्ड यतिमा भेटघाट गरेपछि उनी सवा एक बजेदेखि संयुक्त आयोगको बैठकमा सहभागी हुनेछन् । पौने २ बजे दुई देशबिच १० हजार मेगावाट बिजुली खरिद सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम हुनेछ ।
उनी २ बजे परराष्ट्र मन्त्रालयले याक एण्ड यतिमा आयोजना गर्ने दिवा भोज कार्यक्रममा सहभागी हुने बताइएको छ । विदेशमन्त्री जयशंकरले ३ बजेर ४० मिनेटमा कांग्रेसका सभापति शेरबहादुर देउवा र साढे चार बजे एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्नेछन् ।
साँझ ६:१५ वजे परराष्ट्र मन्त्रालयले सोल्टी होटलमा रात्रि भोजको आयोजना गर्नेछ । सो रात्रि भोजमा मन्त्री जयशंकर लगायत नेपालका नेता, सांसद र सरकारी अधिकारीहरूको उपस्थिति रहनेछ ।
पुस २० गते बिहान ८ बजे उनले पशुपतिको दर्शन गर्नेछन् भने ९ बजे पुस्तकालय उद्घाटन गर्नेछन् । त्यसपछि उनले त्यहाँ पुनः निर्माणका कामहरू हेर्ने कार्यक्रम रहेको छ ।
त्यसलगत्तै विदेशमन्त्री जयशंकर मध्यान्ह १२ बजे भारत फर्किनेछन् ।