ईपीएस कोरिया शाखाले सोमबारदेखि पानी जहाज निर्माण क्षेत्रको परीक्षामा सहभागी भएकाहरुको पनि निर्माण क्षेत्रका लागि आवेदन लिने भएको छ।
ईपीएस प्रणालीमाको प्रावधानविपरीत उच्च अदालत पाटनले आदेश दिएपछि १८ जनाको आवेदन शुक्रबार नै लिइसकेको शाखाले बाँकीलाई सोमबारदेखि तीन दिन समय तोकेको छ।
शुक्रबार उच्च अदालत पाटनले पानीजहाज निर्माण क्षेत्रको परीक्षामा सामेल भएका परीक्षार्थीको रिटमा सुनुवाइ गर्दै यस्ता प्रकृतिका आवेदकहरुलाई नरोक्न र परीक्षा फारम भर्न दिन आदेश दिएको थियो।
त्यही आदेश अनुसार उनीहरुले पनि आवेदन दिने व्यवस्था गर्न लागिएको हो। सन् २०२३ मा पानी जहाज निर्माण क्षेत्रमा फारम भरेका आवेदकहरुले मात्रै सोमबारदेखि बुधबारसम्म फारम भर्न सक्नेछन्।
त्यसबाहेककाले फारम भर्न नपाउने र यदि कसैले भरेमा रद्द हुने ईपीएस शाखाले जनाएको छ।
आवेदकको योग्यता १८ वर्ष देखि ३९ वर्षभित्रको हुनु पर्नेछ। यो तीन दिन उनीहरुका लागि अनलाइनबाटै आवेदन लिने व्यवस्था गरिएको वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताए।