• शुक्रबार, साउन ८ २०८३

कांग्रेसको निष्कर्ष : सरकारको काम सन्तोषजनक देखिएन


आइतबार, पुष १५ २०८०
1.7K
Shares

काठमाडाैँ । सत्ता साझेदार नेपाली कांग्रेस पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारले जनतामा विश्वास जगाउन नसकेको निष्कर्ष निकालेको छ।

शनिबार सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले यस्तो निष्कर्ष निकालेको हो। बैठकका निर्णय सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले अनेक प्रयासका बावजुद सरकारले जनतामा विश्वास जगाउन नसकेको बताए।

यस अवधिमा आर्थिक क्षेत्रमा सुधारका संकेतहरु देखिन थालेको, कर्जाको ब्याजदर घटेको र घरजग्गाको कारोबारमा वृद्धि भएकाले आर्थिक क्षेत्रमा सकारात्मक संकेत देखिन थालेको कांग्रेसको दाबी छ ।

कांग्रेस बैठकपछि जारी विज्ञप्तिमा सरकारको मूल्याङ्कन गर्दै भनिएको छ, ‘पुँजीगत खर्च हुन नसक्ने विगतकै समस्या यथावत् नै रहेको छ । सम्पन्न भएका आयोजनाहरुको पनि निर्माण व्यवसायीलाई दिनुपर्ने रकम समयमा भुक्तानी नभएको अवस्थाले पनि विकास निर्माणका आयोजनाहरुमा सुस्तता देखिएको छ ।’

कांग्रेसले नेतृत्व सम्हालेको परराष्ट्र मन्त्रालयले यस अवधिमा उल्लेख्य प्रगति भएको कांग्रेसको निष्कर्ष छ । तर, इजरायलमा अध्ययनरत विपीन जोशीको रिहाई र रुस युक्रेन युद्धमा रुसी सेनामा भर्ना भइ निधन भएका नेपाली नागरिकको शव खोजी गरी सरकारले ल्याउन नसकेको कांग्रेसको आरोप छ ।

‘नेपाली जनताको चाहाना र भावना समेटिएको यो संविधानको प्रभावकारी कार्यान्वयनले नै हाम्रासामु देखिएका आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक एवम् राजनैतिक अन्यौलता हटाउन सक्छ’, कांग्रेसले अगाडि भनेको छ, ‘१२ बुँदे समझदारी र वृहत शान्ति सम्झौताले निर्दिष्ट गरेको शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम निष्कर्षमा पुर्‍याई द्वन्द्व प्रभावित व्यक्ति र परिवारलाई न्याय दिलाउन विलम्ब गर्न नहुने निष्कर्षसहित यस प्रक्रियामा संलग्न सबैसँग साझा सहमतिको लागि यो बैठक अपील गर्दछ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार