काठमाडौँ । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाउदा परिक्षार्थीले आक्रोशमा गरेको आन्दोलनमा दुइ युवाको ज्यान गएको छ ।
ललितपुरको बालकुमारीमा भएको घटनामा वीरेन्द्र शाह र सुजन रावतको मृत्यु भएको हो । आन्दोलनका क्रममा प्रहरीको गोलि लागि घाइते भएका वीरेन्द्रको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो, भने सुजनको किष्ट अस्पतालमा मृत्यु भएको हो । जुम्ला घर भएका सुजनको छातीमा निलडाम देखिएको प्रहरीले जनाएको छ ।
प्रदर्शनमा उत्रिएका युवाहरुले सडक अवरुद्ध पार्दै सवारीसाधनमा आगजानी गरेका थिए । त्यसक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सवार रहेको बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी समेत गरेका थिए ।
पानी जहाज बनाउने कम्पनीका लागि परीक्षा फर्म भरेका युवाले अन्य क्षेत्रमा परीक्षा दिन नपाउने इपिएस कार्यालयले जनाए पछि पानी जहाजबनाउने कामका लागि परीक्षा दिइ अनुत्तीर्ण भएकाहरुले उत्पादनमुलक तथा कृषि क्षेत्रमा फर्म भर्न नपाउने निर्णय विरुद्ध युवाहरु उच्च अदालत पाटन गएका थिए ।
उच्च अदालतले उत्पादनमुलक तथा कृषि क्षेत्रमा हुने परीक्षामा सहभागी गराउन अदालतले आदेश दिएको थियो । तर इपीएस कार्यालयले अदालतमा रिट दायर गर्नेलाई मात्रै आवेदन दिन आह्वान गरेपछि बाँकि विद्यार्थीले बिरोध गरेका थिए । परिक्षा दिएर अनुत्तीर्ण भएका २८ हजार भन्दा बढी छन् ।
आन्दोलनका कारण बालकुमारी क्षेत्र दिनभर तनावग्रस्त बन्यो भने प्रहरीले ५० जना भन्दा बढीलाई पक्राउ गरेको छ ।
यसैबिच घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्य नेतृत्वमा समिति बनाएको छ । समितिको सदस्यमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक बासु सिग्देल रहेका छन् ।
