काठमाडौँ । गत मंसिर महिनामा मात्रै ७१ हजार बढी नेपालीले बैदेशिक राेजगारीका लागि श्रम स्वीकृति लिएका छन् । बैदेशिक राेजगारीका लागि बिभिन्न देश जानका लागि मंसिर महिनामा मात्रै ७१ हजार २ सय ७६ जनाले श्रम स्वीकृति लिएकाे बैदेशिक राेजगार विभाागले जनाएकाे छ ।
विभागकाे तथ्यांक अनुसार मंसिरअघिकाे कार्तिक महिनामा जम्मा ४३ हजार ६ सय २२ जनाले मात्रै श्रम स्वीकृति लिएका थिए । साे संख्या मंसिर महिनामा भने बढेर ७१ हजार २ सय ७६ पुगेकाे विभागले जनाएकाे छ ।
मंसिरमा ७१ हजारबढीले श्रम स्वीकृति लिँदा सबैभन्दा बढी भने दुबई अर्थात संयुक्त अरब इमिरेट्स (यूएई) गएका छन् । विभागका अनुसार यूएई जानका लागि अन्य देशकाे तुलनामा सबैभन्दा धेरै १८ हजार ४९३ जनाले श्रम स्वीकृति लिएका हुन् ।
अघिल्लो वर्ष मङ्सिर महिनामा तेस्रो श्रम गन्तव्य देश रहेको यूएई यो वर्ष भने सुुरुदेखि नै पहिलो श्रम गन्तव्य बन्न सफल भएको छ । विभागका अनुसार चालुु आर्थिक वर्षको मङ्सिर महिनामा ७१ हजार २७६ जनाले श्रम स्वीकृति लिएकोमा यूएई पहिलो श्रम गन्तव्य देश बनेको हो ।
विभागका अनुसार कतारका लागि १४ हजार १५९ जनाले श्रम स्वीकृति लिएर दोस्रो श्रम गन्तव्य देश भएको छ । जबकी अघिल्लो आव मङ्सिर महिनामा कतार चौथोमा थियो ।
यो वर्ष मङ्सिरमा मलेसियाका लागि नौ हजार ७७५ जनाले मात्रै श्रम स्वीकृति लिएर चौथो श्रम गन्तव्य देश भएको छ । विभागका अनुसार यस वर्षको मङ्सिर महिनामा साउदी अरबका लागि १३ हजार ९८३ जनाले श्रम स्वीकृति लिएका छन् ।