काठमाडौं । स्वास्थ्य बीमा बोर्डको नयाँ नेतृत्व आएपछि अस्तव्यस्त बन्दै गएको कार्यक्रमलाई लयमा ल्याउने प्रयास भएको छ ।
गत आइतबारदेखि जिम्मेवारी समालेका बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले बुधबार बैठक राखेर केही महत्वपूर्ण निर्णय गरेका छन् ।
बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले बुधबार स्वास्थ्य बीमा सुधार कार्यक्रमका लक्षित ८ वटा निर्णय भएको बताए ।
उनका अनुसार बैठकले दाबी भुक्तानीलाई चुस्त बनाउन कार्यदल गठन गर्नेदेखि सुविधाको थैलीमा पर्ने औषधिको मूल्य समायोजनको कार्यलाई अघि बढाउने निर्णय गरेको छ ।
यस्तै, नियमित औषधि खाने दीर्घ रोगीहरुलाई तीन महिनाको औषधि दिन मिल्ने, एउटै रोगका लागि फलोअपमा जानु पर्ने विरामीले पटक पटक रेफर बनाउन नपर्ने निर्णय गरेको छ ।
सेवा प्रदायक स्वास्थ्य संस्थाहरुबाट पेश भएका दाबीहरुलाई पुनरावलोकन गर्नका लागि सातै प्रदेशमा परिचालन भई अनुगमन गर्ने गरी पाँच सदस्यीय विज्ञ समूहको एक स्वतन्त्र दाबी पुनारावलोकन समिति गठन गर्ने र समितिको कार्यविवरण तयार गर्ने र एक महिना भित्र दाबी पुनरावलोकन गराउने व्यवस्थाका लागि जिम्मेवारी दिने निर्णय भएको छ ।
यस्तै,स्वास्थ्य बीमा ऐन २०७४ को दफा ७ मा भएको व्यवस्था बमोजिम सहभुक्तानी (पेमेन्ट) को प्रणाली लागू गर्नका लागि बनेको कार्यविधि–२०८० लाई परिमार्जन सहित स्विकृत गरी आगामी १ माघ देखि कार्यान्वयनमा ल्याउने, सेवा प्रदायक स्वास्थ्य संस्थाले दाबी गर्ने व्यवस्थालाई एपीआईको माध्यमबाट रियल टाइम गर्न सक्ने गर्ने व्यवस्था मिलाउन जोड दिने बैठकले निर्णय गरेकाे छ ।
यस्तै, स्वास्थ्य बीमा बोर्डको आवश्यक जनशक्तिको माग गरी २०८० वैशाख १४ गते प्रकाशित सूचना अनुसार २ असारमा लिइएको परीक्षाको नतिजा यथाशक्य छिटो प्रकाशित गर्ने निर्णय पनि भएको छ ।