काठमाडौँ । जीटीए फाउन्डेसनले माउन्टेन गाइड, ट्रेकिङ गाईड र भरियाहरूलाई लक्षित गरी शनिबार पहिलो पटक एक दिने नि:शुल्क मुटु जाँच शिविर सफलतापूर्वक सम्पन्न गरेको छ ।
शनिबार बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा जीटीए फाउन्डेसन र हेनरी फोर्ड हेल्थको बिशेष साझेदारीमा शेर्पा प्रोजेक्ट अन्तर्गत आयोजना गरिएको कार्यक्रममा ७० जना भन्दा बढीले सेवा लिएका थिए ।
शिबिरमा मुटुरोग विशेषज्ञहरुको टोलीले सेवा प्रदान गरेका थिए । जीटीए फाउण्डेशनका प्रमुख दीपक चन्द्र बज्राचार्यले हेनरी फोर्ड हेल्थ र शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रसँगको सहकार्यमा फाउण्डेशनले हिमालय र उच्च हिमाली पर्यटनमा संलग्न व्यक्तिहरूलाई लक्षित गरी शिबिर सञ्चालन गरेको बताउँदै यस्ता हृदय जाँच शिविरहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
उनले यसभन्दा अघि सामान्य खालको शिबिर सञ्चालन गरेपनि काठमाण्डौँ लक्षित पहिलो शिबिर भएको बताउँदै बिशेष रूपमा हिमाल यात्राको जोखिम र मुटु को सुरक्षामा पुर्व सचेतना जगाउने उद्देश्यले कार्यक्रम आयोजना गरेको जानकारी दिदै कार्यक्रम एकदमै प्रभावकारी भएकोमा आफुहरु उत्साहित भएको बताए ।
सेवा लिन पुगेका सहभागीहरुले नि:शुल्क रूपमा मुटुको सम्पुर्ण चेकजाँच गराउन पाउदा निकै खुशी लागेको र आयोजक संस्था प्रती आभारी रहेको प्रतिक्रिया दिएका थिए । चेकजाँच पछि उनीहरुलाइ प्रमाणपत्र प्रदान गरिएको थियो ।