काठमाडाैँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित पक्राउ परेका व्यक्ति बिगत सन् २०२३ मा मात्रै ५ पटक युएई ओहोर–दोहोर गरेको पाइएको छ।
पक्राउ परेका घलेले यसअघि पनि दुबईबाट पटक–पटक सुन भित्र्याएको प्रहरीको अनुमान छ। उनी यो वर्ष सन् २०२ ३ मा मात्रै ५ पटक दुबई ओहोर-दोहोर गरेको पाइएको छ।
उनी नेपालबाट दुबई पुगेको तीन दिनमै फर्किएका छन्। पछिल्लो एक वर्षयताको रेकर्ड अनुसार उनी पहिलो पटक गत माघमा दुबई पुगेको तथ्य फेला परेको छ।
२०७९ माघ २४ गते (फेब्रुअरी ७) दुबई गएका घले त्यसको तीन दिनमै नेपाल फर्किएका थिए। उनी माघ २७ गते (फेब्रुअरी १०) मा काठमाडौं फर्किएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ।
त्यसको तीन महिनापछि फेरि उनी दुबई पुगेका थिए। २०८० वैशाख २७ गते गएका उनी वैशाख ३० गते फर्किएका थिए। यसपटक पनि उनी तीन दिनमै फर्किएको रेकर्ड भेटिएको छ।
यस्तै २०८० भदौ १७ गते तेस्रो पटक यूएई गएका घले दुई दिनपछि अर्थात् १९ गते काठमाडौं फर्किएको प्रमाण भेटिएको छ। भदौमा दुबई पुगेर दुई दिनमै फर्किएका घले अर्को महिना पनि पुगेका थिए।
फेरि उनी असोज २८ गते दुबई गएर कात्तिक १ गते फर्किएको भेटिएको छ। पाँचौँ पटक उनी मंसिर १८ गते दुबई गएका थिए। दुबईबाट चार तीन दिनमै फर्किएका घले बिहीबार राति १४ किलो सुन लिएर काठमाडौं ओर्लिँदा पक्राउ परे।
बिहीबार राति ११ः ४० बजे फ्लाई दुबईको उडान नम्बर एफजेड ५७३ बाट उनी काठमाडौं आएका थिए। सुन लिएर आउँदै गरेको पूर्वसूचनाका आधारमा विमानस्थल भन्सार कर्यालयका प्रमुख र प्रहरी प्रमुखसहितको टोलीले उनलाई भन्सार जाँचका क्रममा पक्राउ गरेको हो।
उनले ७ वटा बिस्कुट आकारमा ७ थान सुन ल्याएका थिए। तत्काल जोख्दा १४ किलो भएको भन्सार कार्यालयका प्रमुख डा. टोकराज पाण्डेले जानकारी दिए।