काठमाडाैँ । बिहीबार मध्यराति काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन बरामद भएको छ भने दुई जना पक्राउ परेका छन्।
फ्लाई दुबईको जहाजबाट काठमाडौँ आएका गोरखा, बारपाकका चन्द्र घलेको साथबाट दुई/दुई किलोका ७ वटा बिस्कुट बनाएर ल्याइएको सुन बरामद भएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले जानकारी दिए।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा टोकराज पाण्डेका अनुसार बिहीबार राति ११ः५६ बजे फ्लाई दुबईको उडानबाट काठमाडौँ आएका गोरखाका चन्द्र घलेको साथबाट ज्याकेट र जुत्तामा लुकाई ल्याएको अवस्थामा उक्त सुन बरामद गरेको हो ।
दुबईबाट एक यात्रुले ठुलो परिमाणमा सुन बोकेर ल्याउँदै छन् भन्ने विशेष सूचनाको आधारमा स्ट्याण्डबाइ बसेको भन्सारको टोलीले फ्लाई दुबईको उडान नम्बर एफजेड ५७३ बाट काठमाडौँ आएका चन्द्र घलेले ज्याकेटभित्र सुन राख्न प्रयोग हुने छुट्टै झोला बनाएर भित्री ज्याकेट र जुत्तामा समेत सुन लुकाएर ल्याएको अवस्थामा फेला परेको हो ।
चन्द्र घलेको साथबाट बरामद भएको सुन गोरखाका मीनबहादुर घलेको भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेपछि उनलाई पनि बिहीबार राति नै धुमबराहीबाट पक्राउ गरिएको छ । घटनामा अन्य व्यक्ति पनि संलग्न हुनसक्नेबारे अनुसन्धान भइरहेको छ ।