काठमाण्डाै । आज (बुधबार) चारवटा जहाजमार्फत करिब ६ सय ८५ जना नेपाली स्वदेश फर्किने भएका छन्। हिमालयका २, नेपाल वायुसेवा निगम र जजिरा एयरको जहाजले १/१ उडानमार्फत उनीहरु नेपाल आउन लागेका हुन्।
बंगलादेशबाट १ सय १४ जना फर्किनेछन्। उनिहरुलाई लिन हिमालय एयरलाइन्सले ढाका उडान गरेको छ।
हिमालयकै अर्को जहाजले काठमाडौंबाट १४ जनालाई सिंगापुर लगेर त्यहाँबाट फुल सिट क्षमतामा नेपालीलाई काठमाडौं ल्याउने भएको छ। करिब १५६ सिट क्षमता भएको ए ३२०ले फुल क्षमतामा नेपाली ल्याउने नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको हो।
सोमबार र मंगलबार उद्धार उडान गर्न नसकेको नेपाल वायुसेवा निगमले बुधबार बिहान १६ यात्रु बोकेर बैंकक उडान गरेको छ। निगमको ए–३३० वाइडबडी जहाजले २५० नेपाली ल्याउने प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।
त्यस्तै, कुवेतमा अलपत्र परेका नागरिक लिएर चौथो जहाज आज काठमाडौं आउँदै छ। कुवेतबाट जजिरा एयरले १ सय ६८ जनालाई नेपाल ल्याउनलागेको हो। यसअघि उसले ३ उडानमार्फत ४ सय ४९ नेपाली ल्याइसकेको छ।
त्यस्तै बुधबार त्रिभुवन विमानस्थलमा मलेसियन एयरले कार्गो लिएर आएको छ। उक्त जहाजले ८ जना यात्रु मलेसिया लैजानेछ।